कांग्रेसको प्रश्न- प्रधानमन्त्री कार्यालयमा थुनेर अख्तियारलाई थर्काउने को हुन् ?
nepalpress.com · Fri Jun 19 05:48:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टासम्म थुनामा राखेर दबाबमा पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएको घटनाप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहको हुकुमी जङ्गलराज जन्माउँदै छौँ? भन्दै प्रश्न गरे।
उनले भने, ‘अख्तियारका अधिकारीहरू मात्र होइन, एकजना विदेशी राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार भएको भन्ने आरोप सार्वजनिक भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका कुनै पनि घटनामाथि छानबिन गर्नुपर्छ।’
उनले भ्रष्टाचार गर्ने कांग्रेसकै नेता भएपनि कारबाही हुनुपर्ने उनले बताए।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एन्ड ब्यालेन्स कायम गर्ने हो। अख्तियार कसैको गोजीको संस्था कदापि होइन।’
आज प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने? भन्दै प्रश्न गरे।
उनले थपे, ‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन? तिनीहरू नेपालको संविधान र कानुन नचिन्ने, केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
प्रतिनिधि सभा