मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुस्बुको चुनौती- अख्तियारका पदाधिकारीलाई थुनेको समाचार असत्य भए सरकारले खण्डन गरोस्

nepalpress.com · Fri Jun 19 06:07:40 GMT 2026

काठमाडौं । राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको कार्यालयमा अख्तियारका पदाधिकारीलाई थुनेर राखेको विषयमा सरकारको जवाफ मागेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियारका पदाधिकारी तथा अधिकारीहरूलाई नौ घण्टासम्म नियन्त्रण राखेको भन्दै आपत्ति जनाइन्।

उनले भनिन्, ‘यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही नै हो त? यति मात्र होइन, नेपालको दशकौँदेखिको प्रयासबाट निर्माण भएको कूटनीतिक प्रतिष्ठामाथि समेत आघात पुगेका समाचारहरू आएका छन्। कूटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्‍याउँछ?’

उनले सरकारले विदेश नीति र कूटनीतिक संस्कारलाई कुन दिशा तर्फ धकेलिँदै छ? भन्दै प्रश्न गरिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विभिन्न मन्त्रालय सम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको समेत बताइन्।

उनले थपिन्, ‘स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हाबी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासोहरू आइरहेका छन्। यसले संस्थागत स्मृति, इन्स्टिट्युसनल मेमोरी, प्रशासनिक निरन्तरता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)