चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
ratopati.com · Fri Jun 19 06:26:10 GMT 2026

फिलाडेल्फिया । ब्राजिलका स्टार फरवार्ड नेयमार पिँडुलाको चोटका कारण विश्वकप अन्तर्गत ब्राजिलको दोस्रो खेलमा नखेल्ने भएका छन् ।
ब्राजिलियन फुटबल महासङ्घ (सीबीएफ) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेयमार चोटका कारण टोली बाहिर रहने पुष्टि गरेको हो ।
समूह ‘सी’ अन्तर्गत फिलाडेल्फियामा हाइटीविरुद्ध हुने खेलका लागि नेयमार टोलीका अन्य सदस्यहरूसँग त्यसतर्फ प्रस्थान गर्ने छैनन् । महासङ्घले आफ्नो स्वास्थ्य लाभको अन्तिम प्रक्रियालाई तीव्र बनाउन र सहज गराउनका लागि उनी न्युजर्सीमै रहने जनाएको छ । ३४ वर्षीय स्टार खेलाडी नेयमारले टोली बसेको होटलकै सुविधा प्रयोग गरेर आफ्नो रिकभरी प्रक्रियालाई निरन्तरता दिने छन् ।
ब्राजिलका लागि सर्वाधिक ७९ अन्तर्राष्ट्रिय गोल गरेका नेयमारले महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमानलाई समेत भङ्ग गरिसकेका छन् । दाहिने खुट्टाको चोटको उपचार गराइरहेका नेयमार राष्ट्रिय टोलीमा समेटिएयता अन्य खेलाडीहरूसँग पूर्ण प्रशिक्षण सत्रमा भने सहभागी हुन सकेका छैनन् ।
यद्यपि, उनी गत मंगलबार शारीरिक तन्दुरुस्तीका लागि पहिलोपटक प्रशिक्षण मैदानमा फर्किएका थिए भने बुधबारको सत्रमा केही समयका लागि टोलीमा सामेल हुँदा साथीहरूले ताली बजाएर उनको स्वागत गरेका थिए ।
आफ्नो चौथो विश्वकप खेल्ने तयारीमा रहेका नेयमार गत मे १७ मा सान्तोष क्लबबाट खेल्ने क्रममा घाइते भएका थिए । उनको दाहिने पिँडुलाको चोटमा कतिको सुधार भइरहेको छ भन्ने पत्ता लगाउन सोमबार मात्रै केही परीक्षणहरू गरिएको थियो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले गत शनिबार मोरक्कोसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो । सन् २०१४ मा आफ्नै देशमा भएको विश्वकपबाट डेब्यु गरेका नेयमारलाई यसपटक मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले टोलीमा समावेश गर्ने कि नगर्ने भन्ने विषयमा ब्राजिलभित्र लामै बहस चलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)