कडा खालका कुपोषित बालबालिका बढ्दै
gorkhapatraonline.com · Fri Jun 19 06:37:19 GMT 2026

जिल्लामा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा २१ जना बालबालिका शिघ्र कुपोषणबाट ग्रसित देखिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउने अभियान सञ्चालन गर्दा यो संङ्ख्या पत्ता लागेको हो ।
अभियानको क्रममा जिल्लाका सातवटै गाउँपालिमा तीन हजार २५२ जना बालबालिकामा परीक्षण गर्दा २१ जना बालबालिकामा शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएको कार्यालयका पोषण कार्यक्रमका सम्पर्क ब्यक्ति पाल्जोर तामाङले बताउनुभयो ।
गत कात्तिक महिनामा यो अभियान महिला स्वास्थ्य स्वयमसेविकाबाट सञ्चालन गरिदा १३ जना बालबालिका कडा शिघ्र कुपोषण देखिएको थियो । अभियान अन्तर्गत जाँचका क्रममा २१ जनामा कडा शिघ्र कुपोषित, ८१ जनामा मध्यम शिघ्र कुपोषित बालबालिका रहेको पाइएको उहाँले बताउनुभयो ।
यीमध्ये ४२ जना बालबालिका अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ३१ जना बालबालिका जिल्ला अस्पतालको निगरानीमा रहँदैआएका छन् । एघार जनाले जुम्लाको पोषण सुधार पूनःस्थापन केन्द्रमा उपचाररत रहनुभएको छ ।
स्वास्थ्य सेवा कार्यालयले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो । यस्ता बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने गर्दछन् ।
यस पटक जिल्लाभर पहिलो पटक स्वास्थ्यकर्मीबाट अभियान सञ्चालन गरेको हुनाले कडा कुपोषण भएका बालबालिका धेरै देखिएका छन् । कडा शिघ्र कुपोषण सङ्ख्या धेरै देखिएकाले आगामी दिनमा सोहीअनुसार योजना बनाएर प्रभावकारी कार्यान्वयनको आवश्यक उहाँले बताउनुभयो ।
कडा र शिघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ्ग देखिने खालका हुन्छन् । यस्तो किसिमको कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ्य हुने गर्छन् । यसका लागि बालबालिका र आमाको पोषणको अवस्थालाई सुधार ल्याउन पूनःस्थापना केन्द्र सञ्चालन गर्नु आवश्यक छ ।
यस्ता बालबालिकालाई तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि जिल्लामा हाल पोषण पुनःस्थापना केन्द्रको ब्यवस्था भइसकेको छैन् । आमा र बच्चा दुवैलाई दैनिक रूपमा अवस्था हेरेर तयारी खाना खुवाउने पर्नेमा सो केन्द्र नभएको कारण समस्या भएको छ ।
असार पहिलो हप्तासम्म उक्त केन्द्र जिल्ला अस्पतालमा स्थापना गर्ने तयारी भई स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनुभयो । यसरी कुपोषित बालबालिका बढ्नुमा घरमा अभिभावकले ध्यान नदिन, बालबिबाह हुनु, आमार शिशुको खानामा सन्तुलन नमिल्नु लगाएको कारण रहेको उहाँले बताउनुभयो ।
हाल सो सुविधा नभएको कारण केही समय अगाडी ताँजाकोट गाउँपालिकाको विभिन्न वडाबाट जुम्ल्याहासहित एघार जना बालबालिका र दश जना आमाहरु कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा लगेर उपचारत रहनु भएको हो । यता कर्णाली प्रदेशमा पाँच हजार ९ सय ८९ र शीघ्र कुपोषण भएका बालबालिका छन । कर्णाली प्रदेशका दश वटा जिल्लामा कडा शिघ्र कुपोषण भएका कर्णालीमा एक हजार ५०३ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)