सीमा प्रशासन कार्यालय कर्मचारीविहीन
gorkhapatraonline.com · Fri Sep 11 05:46:46 GMT 2026

पाँचथरको सुदूर उत्तरपूर्वी उच्च भेगका नागरिकलाई घरआँगनमै प्रशासनिक सेवा दिने उद्देश्यले स्थापना भएको सीमा प्रशासन कार्यालय, च्याङथापु लामो समयदेखि कार्यालय सहयोगीको भरमा छ । पहिले सरकारले खटाएका कर्मचारी उपस्थित भएर छोटो समय काम गरे पनि पछिल्लो समय यहाँ सरकारले नै कर्मचारी पठाएको छैन । २०७६ सालदेखि यो कार्यालयबाट सम्पादन गर्नुपर्ने काम भएका छैनन् । प्रमुख जिल्ला अधिकारीले अख्तियारी दिएर सीमा प्रशासन कार्यालयबाट नागरिकता वितरणसमेत गरिन्छ ।
उपल्लो तहका कर्मचारी अभावमा कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्नेबाहेक अन्य सेवा दिन सकेका छैनन् । यो कार्यालय दुर्गमका नागरिकलाई सहज बनाउन २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ । कर्मचारी अभावको प्रत्यक्ष मारमा अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक परेका छन् । नागरिकता, राहदानीलगायत सामान्य प्रशासनिक सेवा लिनसमेत उनीहरूले सदरमुकाम फिदिम पुग्नु पर्छ । च्याङथापु र फलैँचाबाट फिदिम पुगेर काम सकेर घर फर्कन मात्रै तीन दिनसम्म लाग्ने स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)