कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा मध्यरातमा प्रहरीको छापा
setopati.com · Fri Jun 19 06:39:00 GMT 2026

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले बिहीबार मध्यरातमा छापा मारेको छ।
विराटनगर-३ ल क्याम्पस छेउमा रहेको मन्त्री पराजुलीको क्वाटरमा राति ११ बजेतिर प्रहरी प्रवेश गरेर खानतलासी लिएको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ।
धनकुटाबाट प्रदेशसभामा दोस्रोपटक निर्वाचित एमाले नेता पराजुलीको निवासमा प्रहरीले किन छापा मारेको भन्ने खुलेको छैन।
मन्त्री पराजुली भने विराटनगर बाहिर रहेकाले यसबारे खुलेर बोल्न चाहेनन्।
'म त बाहिर संखुवासभातिर छु। खै छरछिमेकीले पुलिस आएर के-के गर्यो भन्ने जानकारी गराउनुभएपछि मात्रै थाहा भयो,' उनले भने।
मन्त्री निवासमा रहेका एक कर्मचारीका अनुसार राती ११ बजेतिर आएको प्रहरीको एक समूहले निवासका कोठा कोठामा तलासी लिएको थियो।
मन्त्रीको निवासमा प्रहरीले खानतलासी गरेको विषय प्रतिनिधिसभामै उठेको छ। शुक्रबारको बैठकमा धनकुटाका सासद राजेन्द्र राइले यो कुरा उठाएका हुन्।
यसबारेमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई मन्त्री निवासमा प्रहरीले किन छापा मारेको हो ? भनेर सोधेको छौं। जबाफमा उनले छापा मारेको भन्न अस्विकार गरे।
'गलत प्रचार भयो, हामीले छापा मारेको होइन, एक जना व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना आएपछि प्रहरी गएको हो,' एसपी कटुवालले भने, 'प्रहरी भित्र पसेन। बाहिरबाटै फर्क्यो।'
उनले सूचना सही नभएका कारण प्रहरी निवासभित्र नपसेको बताए। तर भित्र प्रवेश नगरी कोही व्यक्ति लुकेको नलुकेको कसरी थाहा भयो भन्नेबारे चाहिँ उनले प्रष्ट पारेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)