मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिनियाँ दूतावासले नै विज्ञप्ति जारी गर्नुपर्ने जनआस्था प्रकरण के हो ?

shilapatra.com · Tue May 26 11:30:38 GMT 2026

नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकले नेपाली पत्रकारलाई निश्चित राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार प्रकाशनका लागि घुस दिन खोजेको विषयको अडियो सार्वजनिक भएपछि आइतबार राति प्रेस नोट नै जारी गर्‍यो । उक्त प्रेसनोटमा भनिएको छ– 'हामी सम्बन्धित नेपाली निकायहरूलाई तपाईंले उल्लेख गर्नुभएको हल्लाबारे गम्भीर, गहिरो र व्यापक अनुसन्धान गर्न तथा यसमा प्रत्यक्ष संलग्न व्यक्तिहरू र पर्दापछाडि रहेका व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न आग्रह गर्दछौँ । साझा हितको संरक्षणका लागि हामी नेपाली पक्षसँग कानुन कार्यान्वयन र सुरक्षा सहकार्यलाई थप मजबुत बनाउन तयार छौँ ।’

केही दिनअघि ‘युथ अफ वीरगञ्ज–वाईओबी’ नामको फेसबुक पेजमा एक्सक्लुसिभ दाबी गर्दै अडियो सार्वजनिक भयो, जसमा जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठले पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध समाचार लेखेकोमा खुसी व्यक्त गर्दै उनको प्रयासको प्रशंसा गरिएको छ । अंग्रेजी भाषामा गरिएको संवादमा यही कामका लागि श्रेष्ठलाई गिफ्ट दिने कुरा गरिएको छ ।

सोही अडियो सार्वजनिक भएको डेढ घण्टापछि श्रेष्ठले घटनाको विवरण र फोटो आइतबार दिउँसो सार्वजनिक गरे ।

‘तथ्यको खण्डन गर्न नसकेपछि पत्रकार र मिडिया हाउसलाई फसाउन, बदनाम गर्न चिनियाँ नम्बरबाट वाक्क लाग्ने गरी पटकपटक कल गरी सुधन गुरुङविरुद्ध व्यापक जनमत बनाउने षड्यन्त्रअन्तर्गत रचिएको एउटा प्लट एक्स्पोज भएको छ,’ श्रेष्ठले लेखेका थिए, ‘सौरभ यादवका नाममा दर्ता रहेको चिनियाँ (सेन्चेन) को नम्बर +८६१८८२५२४१६२४ बाट पहिला कृष्णबहादुर महरालाई फसाएकै शैलीमा अस्ति शुक्रबार मिस्टर यिङ र मिस्टर एमको नक्कली नाममा कल गरी रवि आज कास्की अदालतबाट छुटेकै हो ? तपाईंले हो हैन बुझिदिनोस् न भनियो र पुष्टि भयो, धन्यवाद भनेर कल आयो ।’

सो विवादित अडियोबारे अरुले नभई श्रेष्ठ स्वयम्‌ले जनआस्थाकै गेटमा आएर युवतीले गिफ्ट छोडेको फोटो सार्वजनिक गरेका थिए ।

‘रविले सुधनलाई गृहमन्त्री बन्न दिन्नँ । हामी सबै मिलेर सुधनलाई छेक्नुपर्‍यो भन्दै एउटी मास्क र कालो चस्माधारी युवतीलाई बेलुका पठाएर गेटमा रक्सी र ५० हजार छोडेको देखियो,’ श्रेष्ठले फेसबुकमा लेखेका थिए, ‘पछि सुधन गुरुङ एकदम खराब मान्छे हो, यसलाई गृहमन्त्री बन्नबाट जसरी पनि रोक्नुपर्‍यो, १० लाख दिन्छु भन्ने लिखित प्रलोभन पनि आयो ।’

आफूले फोन उठाउँदा पनि निरन्तर म्यासेज आएको उनले लेखेका छन् । ‘फोन नउठाउँदा पनि म्यासेज आइरह्यो । त्यो पात्रलाई मैले सुरुमै सोधेको छु– म तिम्लाई चिन्छु र ! उसले एकोहोरो बोलिरहेको छ, म सानो उपहार पठाउँछु भनिरहेको छ,’ अडियोबारे श्रेष्ठले भनेका छन्, ‘मैले मागेको पनि छैन, पठाए हुन्छ भनेको पनि छैन, तिनले भाइरल बनाउन खोजेको अडियो सुन्दा प्रस्ट हुने नै छ ।’

श्रेष्ठले सुधनलाई छेक्न छिमेकी चीन हात धोएर लागेको भन्ने भाष्य खडा हुने गरी थालिएको यस्तो शंकास्पद र घीनलाग्दो गतिविधिबारे समयमै शनिबार नै प्रहरीलाई खबर गरेको पनि उल्लेख गरेका छन् ।

‘हिजै दिउँसो प्रहरीका सबै तहलाई खबर गरिएको छ, तेरो पैसा र रक्सी फिर्ता लैजा, चिन्नु न जान्नुसँग आइन्दा यस्ता वाहियात कुरा नगर् भन्ने जवाफ बेलैमा दिइएको प्रमाण प्रहरीसँग सुरक्षित छ, जोकोहीले आएर हेर्न सक्नु हुन्छ,’ उनले आइतबार लेखेको फोटो, स्क्रिनसटसहितको स्टाटसमा उल्लेख छ, ‘सुधनविरुद्ध मात्र नभई छिमेकी राष्ट्रविरुद्भ यस्तोसम्म षड्यन्त्र गर्ने र उनैका नाममा नेपाली मिडियालाई बदनाम गर्नेहरूका बारेमा अनुसन्धान हिजोबाटै सुरु भएको छ ।’

श्रेष्ठले प्रहरीलाई सबै जानकारी र प्रमाण बुझाइसकेको बताएका छन् । चिनियाँ दूतावासले आइतबार वक्तव्य जारी गर्दै अन्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको जनाएको छ ।

चिनियाँ दूतावासको विज्ञप्तिको भोलिपल्ट जनआस्थाका प्रधान सम्पादक श्रेष्ठले यो प्रकरणबारे नयाँ तथ्य खुलासा गरेका छन् । सामाजिक सञ्जालमा मंगलबार एक स्टाटस लेख्दै उनले चिनियाँ सिमकार्ड प्रयोग गरेर नेपाली मिडिया, पदाधिकारीमाथिको अवाञ्छित आक्रमण रोक्न विदेशी पात्रलाई अफिससम्मै आउने वातावरण दिएको उल्लेख गरेका छन् ।

‘सफाइ होइन, सत्य हो । हामीले चिनियाँ सिमकार्ड प्रयोगमार्फत नेपाली मिडियालाई ट्र्याप गरी यहाँका पदाधिकारी र सञ्चार प्रणालीमाथि अवाञ्छित आक्रमण गर्न खोज्ने केही विदेशी पात्रलाई अफिसमै आउने वातावरण सिर्जना गरेकै हो,’ मास्कधारी युवती जनआस्थासम्म आएको स्थितिबारे प्रस्ट पार्दै श्रेष्ठले भनेका छन्, ‘हामीले नै संकलन गरेको सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा सरकारले मूल दोषी पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । एउटी दोषीको पहिचान खुलेको छ, अरुको पनि खुल्दै छ । त्यसमा हाम्रो पूर्ण साथ र सहयोग छ ।’

ती व्यक्तिको हुलिया प्रहरीले पत्ता लगाइसकेको भन्दै उनले आफूलाई फसाउन तथ्य, अडियो तोडमोड गर्ने व्यक्ति आफैँ फस्ने उल्लेख गरेका छन् ।

‘ती पात्रको हुलिया पत्ता लागिसकेको छ । यही आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाउनेछ । अन्तर्राष्ट्रिय गिरोहको छिट्टै भण्डाफोर हुनेछ । जनआस्थाले कहीँ पनि नगद बुझ्छु भनेको छैन,’ श्रेष्ठले भने, ‘आवाज तोडमोड गरिएको छ । लेखाइ तोडमोड गरिएको छ । आफूलाई चाहिने मात्रै पार्ट सार्वजनिक गरेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । अपराधीलाई पत्ता लगाई कारबाही गर्न चिनियाँ दूतावासले जोडदार माग गरेको छ ।’

जनआस्था साप्ताहिकले बिचौलिया व्यापारी दीपक भट्ट र सुलभ अग्रवालहरूको कनेक्सन र अर्बौं राजस्व ठगेको समाचार सार्वजनिक गरेको थियो । पूर्वगृहमन्त्री सुधनको पद पनि भट्टसँगको विवादित साझेदारीले गुमेको थियो । आफूहरूले व्यक्तिविशेष नभई राज्यका पदाधिकारीको पेसागत खबरदारी गरेको श्रेष्ठको भनाइ छ ।

‘गिफ्ट हामीले पठाऊ भनेको छैन, सुधन गुरुङ वा अन्य कुनै पनि पात्रलाई ठेगान लगाउन र राष्ट्रघात गर्न मञ्जुर छौँ भनेको छैन । फेरि सुधन गुरुङसँग हाम्रो न हिजो कुनै साइनो थियो न आज कुनै सम्पर्क नै छ । राज्यको पदाधिकारीका हैसियतमा गरिएको पेसागत खबरदारी मात्र हो हाम्रो समाचार,’ श्रेष्ठले प्रस्ट पार्दै भनेका छन्, ‘कोही अमुक व्यक्ति या कोही विदेशीलाई फाइदा दिलाउन न हिजो लेखियो न आज लेखिन्छ र न भोलि नै यस्ता कुरा सोच्न सकिन्छ । १० लाख दिने प्रलोभनलाई 'वाह,ओके' भनेर सदर गरेको छैन । ५० हजार पठाएको चुपचाप स्वीकारेर तिनीहरूसँग सहकार्य गर्न तयार छौँ भनेको भए सायद यो प्रकरण बाहिर आउने थिएन, देश जुग जुगसम्म गुमराहमै रहने थियो ।’

अन्टसन्ट बोल्न थालेपछि चिनियाँ सिम कहाँ रजिस्टर्ड छ भनेर खोजी गरिएको समेत श्रेष्ठ बताउँछन् ।

‘सुधन गुरुङलाई ध्वस्त पार्ने, शेरबहादुर देउवालाई नेपाल ल्याएर केपी ओलीसँग भेटाएर वर्तमान सरकारविरुद्ध नयाँ खेल सुरु गर्नेजस्ता अन्टसन्ट बोल्न थालेपछि शंका लागेर हामीलाई फोन आएको चिनियाँ सिम कसका नाममा र कहाँ रजिस्टर्ड छ भनी पत्ता लगाउन प्रहरीलाई अनुसन्धानका निम्ति हामीले बेलैमा जानकारी दिएको हो,’ श्रेष्ठले दाबीका साथ भनेका छन्, ‘मिति र समय हेर्दा हुन्छ । उसका अनेकौँ कललाई हामीले इग्नोर गरेको उसैले निकालेको भिडियोमा छर्लङ्ग देखिन्छ । तैपनि उसले पटकपटक कचकच गरेको गर्‍यै छ ।’

प्रहरीमा बिदाकै दिन भए पनि ८ पेजको उजुरी दर्ता गराएको श्रेष्ठको भनाइ छ । ‘भोलिपल्ट आइतबार दिउँसो १२ बजेदेखि तिनले चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा थुतेझैँ मधेश र विदेशी मूलका केही पात्रमार्फत सम्पादित सामग्री एकैचोटि छरपस्ट पारेर भ्रमको खेती सुरु गरेको सिक्वेन्स हेर्दा थाहा हुन्छ,’ श्रेष्ठले भनेका छन् ।

जनआस्थाविरुद्ध षड्यन्त्र हुँदै छ भनेर श्रेष्ठले २७ वैशाखमै बुटवलमा बोलेको पनि उल्लेख गरेका छन् ।

‘हामीविरुद्ध कुनै न कुनै षड्यन्त्र हुँदै छ भनेर बुटवलको पत्रकार भेला (मिडिया मन्थन) मा हामीले दुई हप्ताअगाडि २७ वैशाखमा बोलेको बारे दुनियाँ जानकार छ,’ श्रेष्ठले भनेका छन्, ‘झुट टिक्दैन । दुई दिन पनि नटिक्ने फण्डा गरिरहनै पर्दैन ।’

ठूला स्क्यान्डल खुलासा गर्ने पत्रकार

जनआस्था र किशोर श्रेष्ठ हरेक ठूला र चर्चित स्क्यान्डल सार्वजनिक गर्ने पत्रकार हुन् । देशका प्रतिष्ठित मिडियामा आएका एक्सक्लुसिभ विषयलाई सार्वजनिक गर्ने पत्रकारमा श्रेष्ठ अग्रणी छन् । सरकारले सार्वजनिक गर्न नसकिरहेको बेला श्रेष्ठले नै जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सरकार बनेदेखि नै आक्रामक बनेका तत्कालीन गृहमन्त्री सुधन गुरुङको बिचौलिया व्यापारी दीपक भट्टसँग अस्वाभाविक साझेदारी रहेको समाचार पनि जनआस्थाले नै सार्वजनिक गरेको थियो । सोही समाचार सार्वजनिक भएपछिको दबाब थेग्न नसकी गुरुङले राजीनामा दिएका थिए ।

रहस्यमय हत्या गरेर दबाउन खोजिएको नमिता सुनिता हत्याकाण्डदेखि नेपालको राजदरबार हत्याकाण्ड बाहिर ल्याउनेमा समेत श्रेष्ठ अगाडि छन् । दरबारका भित्री सूचना मात्रै होइन, पारसले चलाएको गाडीको ठक्करबाट २०५७ सालमा गायक प्रवीण गुरुङको निधन भएको थियो, जसको खुलासा पनि जनआस्थाले नै गरेको थियो । पछिल्ला वर्ष रास्वपाका सभापति रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरण बाहिर ल्याउने मिडियासमेत जनआस्था नै थियो । पत्रकार कृष्णसेन इच्छुक सेनाको हिरासतमै मारिएको समाचार पनि जनआस्थाले नै बाहिर ल्याएको थियो ।

संस्थादेखि संसदसम्म चर्चामा जनआस्था

पछिल्लो विवादास्पद प्रकरणको विषयमा पत्रकारका संस्थादेखि संसदसम्म आवाज उठेको छ । नेपाल पत्रकार महासंघ, प्रेस चौतरी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टरसहितका संस्थाले श्रेष्ठलाई अनावश्यक रूपमा धरपकड गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । स्रोत खोल्न अनावश्यक दबाब दिने, धम्क्याउने गतिविधि भएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

‘गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराउनुभएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।’

धम्क्याउने व्यक्तिको पहिचान गरी कारबाही गर्न महासंघले माग गरेको छ ।

‘महासंघ प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसँग माग गर्दछ । साथै, पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ,’ महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, श्रेष्ठलाई गरिएको धरपकडको विषय संसदसम्मै उठेको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई राज्यले आतंकित बनाएको बताएका छन् । ‘स्थापित पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्न खोजिएको समाचार आइरहेको छ,’ दुलालले भने, ‘लोकतन्त्रमा सरकारका कमीकमजोरीको समाचार लेख्न सकिन्छ । तर, समाचारकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई आतंकित बनाउन खोजिएको छ । त्यसैले हामी राज्यशक्तिको दुरुपयोग स्वतन्त्र मिडियामाथि नहोस् भन्ने माग गर्छौं ।’

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३

१७:१५

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय