मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नेबारेको रास्वपाको प्रतिबद्धतामा बालेनको सचिवालयको अब्जेक्सन !

ratopati.com · Tue May 26 11:33:24 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन गर्ने भनेर आश्वस्त गराएपनि एकाएक नयाँ ट्वीस्ट आएको छ ।

रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति आजै बस्ने प्रतिनिधि सभा बैठकबाट घोषणा गर्ने भनिएपनि प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न भनेपछि अब के गर्नेभन्नेबारे अन्योल भएको छ ।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबिच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा बालेनले सम्बोधन गर्नेगरी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मंगलबार दिउँसो अवरुद्ध भएको सदन अब भने खुला हुने सहमति भएको थियो ।

तर, प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा गर्न नमानेपछि रास्वपा अलमलमा परेको एक प्रमुख सचेतकले रातोपाटीलाई बताए । ‘सहमति त भयो । बालेनको सचिवालयबाट मिति घोषणा नगर्नु भनेर आएको छ । अब सहमति मान्नुहुन्छ कि तोड्नुहुन्छ भन्न सकिने अवस्था छैन । प्रतिबद्धता नआए सदन चल्दैन’, उनको भनाइ छ ।

कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबिच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

यसैबीच नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि प्रमुख सचेतकहरुबीच भएको सहमति रास्वपाले तोडेको आरोप लगाए । 'भित्र भएको सहमति बाहिर आउँदा भत्कियो', उनले भने । उनले सहमतिअनुसार हुन नसके संसदको अवरोध जारी रहने समेत बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)