गाजामा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
gorkhapatraonline.com · Tue May 26 11:33:32 GMT 2026

गाजामा मङ्गलबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पछिल्लो समयमा इजरायली सेना र हमासले एक-अर्कालाई अक्टोबर-१० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरी आक्रमण जारी राखेको आरोप लगाउँदै आएका छने भने गाजा दैनिक हिंसाको चपेटामा परेको छ । नागरिकको समूहलाई लक्षित गरी पूर्वी अलमगाजीमा भएको इजरायली हवाई आक्रमणले पाँच जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पतालमा लगिएको हमासको उद्धार सेवाको रूपमा सञ्चालीत नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
अल-अक्सा शहीद अस्पताल र प्यालेस्टिनी सुरक्षा स्रोतले पनि घटना र हताहतको पुष्टि गरेको छ । इजरायली सेनाले भने रिपोर्ट जाँच गरिरहेको बताएको छ । गाजामा अक्टोबर देखि युद्धविराम लागु भएता पनि इजरायलले विभिन्न क्षेत्रलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।
अक्टोबर-१० को युद्धविराम पछि मात्र कम्तिमा ९०४ जना प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले पनि यस अवधिमा आफ्ना पाँच जना सैनिकको पनि मृत्यु भएको बताएको छ । गाजामा मिडिया प्रतिबन्ध र सीमित पहुँचले सञ्चारमाध्यमहरुलाई स्वतन्त्ररूपमा घटनाको विवरण लिन र हाताहातको सङ्ख्या प्रमाणित गर्नबाट रोकेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
इजरायल