अघिल्लो दुईतिहाइको सरकार र अहिलेको सरकारबीच केहि फरक छैन : सांसद शाही
kathmandupati.com · Fri Jun 19 07:09:22 GMT 2026

काठमाण्डु
– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले वर्तमान सरकार पनि अघिल्लो सरकार सँग मिल्दो जुल्दो रहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अहिलेको दुईतिहाइ सरकार र अघिल्लो दुईतिहाइ सरकारबीच कुनै फरक नरहेको बताएका हुन्।
शाहीले अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दा वास्ता नगरेको भन्दै सरकारकाे आलोचना गरे ।
उनले भने,’हिजो उनीहरूको दुईतिहाइ सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफैं फिर्ता लिन्थे। आज तपाईंहरूको सरकार छ, अदालतमा दर्ता भएका मुद्दा आफैं फिर्ता लिनुहुन्छ। हिजो उनीहरूका मन्त्रीले खुलमखुला धम्की दिन्थे, आज तपाईंहरूका मन्त्री रोस्ट्रममा बसेर धम्की पुर्ण भाषण गर्छन् । के फरक रह्यो तपाईं र उनीहरूबीच ?’ उनले थपे ‘हिजो आक्रमण सडकमा हुन्थ्यो, आज सामाजिक सञ्जालमा हुन्छ। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट मानसिक रूपमा हुन्छ। हिजो आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचकलाई विकासविरोधी ठानिन्छ। के फरक रह्यो तपाईं र उनीहरूबीच ?’
उनले सत्ता जोगाउने व्यवहार र शैली उस्तै रहेको भन्दै चुनाव चिह्न र अनुहार मात्र फरक भएको बताए। शाहीले प्रश्न सत्ता परिवर्तनको नभई शासनको चरित्र परिवर्तनको भएको उल्लेख गरे। उनले दल फेरिएर मात्र नहुने भन्दै व्यवहार पनि परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)