गोलरक्षकबाट गोलकर्तासम्म : २० वर्षे जोहान मानजाम्बीको विश्वकपमा ऐतिहासिक प्रदर्शन
setopati.com · Fri Jun 19 07:08:00 GMT 2026

२० वर्ष २४७ दिनको उमेरमा जोहान मानजाम्बीले विश्वकपको इतिहासमै नयाँ कीर्तिमान कायम गरेका छन्।
फिफा विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत बोस्निया-हर्जगोभिना विरुद्धको खेलमा स्विजरल्यान्डलाई ४-१ को जित दिलाउने क्रममा उनले सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेर दुई गोल गरे। योसँगै उनी विश्वकपको एउटै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
खेलपछि स्विजरल्यान्डका प्रशिक्षक मुरात याकिनले मानजाम्बीको खुलुरै प्रशंसा गरे। साथै उनी सबै पोजिसन खेल्न सक्ने खेलाडी भएको बताए।
उनले भने,‘जोहान एक खुसी रहने र अद्भुत क्षमता भएका खेलाडी हुन्। हामी उनलाई रक्षापङ्क्ति, मिडफिल्ड वा स्ट्राइकरका रूपमा जहाँ पनि खेलाउन सक्छौँ।’
मानजाम्बी आफ्नो युवा टोलीमा गोलरक्षक थिए र जर्मनीका प्रसिद्ध गोलरक्षक म्यानुएल नोयर उनका पहिलो फुटबल आइडल थिए। तर अहिले उनी एक आक्रामक मिडफिल्डर हुन्, जो अगाडि बढेर गोल गर्न रुचाउँछन्।
बोस्निया विरुद्धको उनको प्रदर्शनले उनलाई केवल 'सुपर-सब' मात्र नभई टोलीको मुख्य खम्बाका रूपमा स्थापित गरेको छ।
गत सिजन उनले जर्मन क्लब फ्राइबर्गको मुख्य टोलीमा स्थान बनाएका थिए र टोलीलाई युरोपा लिगको फाइनलसम्म पुर्याउन मद्दत गरे। एस्टन भिल्ला विरुद्धको फाइनल खेलमा उनको टोली ३-० ले पराजित भए पनि उनको व्यक्तिगत प्रदर्शन लोभलाग्दो थियो। यही कारणले गर्दा उनलाई नापोली, चेल्सी र म्यानचेस्टर युनाइटेड जस्ता विश्वका ठूला क्लबहरूले आफ्नो टोलीमा भित्र्याउन चाहेका छन्।
बिहीबार लस एन्जलस स्टेडियममा गरेको प्रदर्शनपछि उनलाई अनुबन्ध गर्न क्लबहरूबीच अझै ठूलो प्रतिस्पर्धा हुने देखिन्छ।
खेलको ९७ औं मिनेटमा स्विजरल्यान्डले पेनाल्टी पाएको थियो। यदि कप्तान ग्रानिट जाकाको सट्टा मानजाम्बीले सो पेनाल्टी प्रहार गरेर गोल गरेको भए, उनी विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो कान्छो खेलाडी बन्ने थिए। यसअघि सन् १९५८ मा ब्राजिलका पेले (१७ वर्ष) र १९३४ मा जर्मनीका एडमन्ड कोनन (१९ वर्ष) ले मात्र यो सफलता पाएका छन्।
७२औं मिनेटमा मैदान प्रवेश गरेको दुई मिनेटमै मानजाम्बीले उत्कृष्ट 'भली' मार्फत गोल गर्दै स्विजरल्यान्डलाई अग्रता दिलाएका थिए। ९०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
खेलपछि आफ्नो खुसी व्यक्त गर्दै मानजाम्बीले भने, ‘साँच्चै भन्नुपर्दा यो अविश्वसनीय छ। मेरो करियरको यो पहिलो 'ब्रेस' (एकै खेलमा दुई गोल) हो, त्यो पनि विश्वकपमा! मलाई लाग्छ म आज खुसीले निदाउन पनि सक्दिनँ।’
मानजाम्बी सन् २०२५ का लागि स्विजरल्यान्डको 'उत्कृष्ट युवा खेलाडी' घोषित भएका थिए। अब बुधबार क्यानडा विरुद्ध हुने निर्णायक खेलमा उनलाई सुरुवाती ११ मै देख्न सकिने सम्भावना बलियो छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा