राप्रपाका तीन पूर्वअध्यक्ष र विक्रम पाण्डेले गरे केन्द्रीय समिति बैठक बहिष्कार
nepalpress.com · Fri Jun 19 07:11:15 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री डा. धवलशम्शेर राणाको समूह बाहिरिए पनि पार्टीभित्रको अन्तरकलह भने समाप्त भएको छैन । पार्टीका चारजना सिनियर नेताहरुले आज बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
काठमाडौंको एक पार्टी प्यालेसमा बसिरहेको केन्द्रीय समिति वैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र उपाध्यक्ष विक्रम पाण्डे एकसाथ अनुपस्थित बनेका हुन् । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बैठकमा भाग नलिएको स्रोतले बताएको छ ।
हिजो बसेको कार्यसम्पादन समितिको वैठकमा उनीहरुले अध्यक्षको तीव्र आलोचना गरेका थिए । अध्यक्षले सामूहिकतालाई पन्छाएर मनोमानी ढंगले पार्टी सञ्चालान गरिरहेको उनीहरुको आरोप छ । यसअघि डा. राणाको समूहले जे-जस्ता आरोपहरू लगाएर पार्टी त्यागेको थियो, त्यसैलाई अहिले चर्काइएको हो ।
तिन पूर्वअध्यक्षहरुले हिजोको कार्यसम्पादन समिति वैठक पनि बीचमै छोडेर हिँडेका थिए । आफूहरुले बेलिसकेपछि उनीहरू बैठक नसकिँदै हिँडेका हुन् । पाण्डे भने अन्त्यसम्म बसेका थिए ।
अध्यक्ष लिङदेनले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा गत आमनिर्वाचनमा राप्रपाबाट उठेर पराजित बनेका उम्मेदवारहरुलाई पनि सहभागी गराउने प्रस्ताव राखेपछि चारजना नेताहरूले असहमति जनाएको बुझिएको छ । अध्यक्षले ती उम्मेदवारहरूलाई बैठकमा बस्ने तर छलफलमा भाग नलिने गरी सहभागी गराउने बताएका थिए ।
तर, चार नेताहरुले यो विधानविपरीत हुने भन्दै विरोध जनाए । तर, लिङदेन पछि नहटेपछि चार नेताहरूले आज बैठकमा भाग नलिने हिजै संकेत दिएको स्रोतको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ