मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल भ्रमण गर्ने विदेशी नागरिक र आमसर्वसाधारणलाई दलालबाट जोगिन अध्यागमनको अनुरोध

baahrakhari.com · Fri Jun 19 07:22:55 GMT 2026

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिक र आमसर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरको छ । अनधिकृत व्यक्ति वा एजेन्सीको प्रभावमा धेरै विदेशी नागरिक तथा सर्वसाधारणले दुःख पाएका भन्दै विभागले शुक्रबार (असार ५) सूचना जारी गर्दै आवश्यक सतर्कता अपनाउन भनेको हो ।

“नेपालमा रहेका वा नेपाल भ्रमण गर्न आउने सम्पूर्ण विदेशी नागरिकहरूलाई भिसा उपलब्ध गराइदिने, भिसाको अवधि थप गर्ने वा भिसाको प्रकार परिवर्तन गर्ने नाममा कुनै पनि अनधिकृत व्यक्ति वा एजेन्सीको प्रभावमा नपर्न तथा त्यस्ता व्यक्तिहरूलाई रकम वा कागजात उपलब्ध नगराउन अनुरोध गरिन्छ,” विभागले भनेको छ ।

भिसासम्बन्धी सही सूचना तथा आवश्यक सहजीकरणका निम्ति अध्यागमन विभाग, सम्बन्धित मन्त्रालय, नेपाल पर्यटन बोर्ड, एकल विन्दु सेवा केन्द्र र पर्यटक प्रहरीसँग प्रत्यक्ष सम्पर्क गर्न विभागले सुझाव दिएको छ ।

विभागले हालै अध्ययन भिसा, गैरपर्यटक (नाता/विवाह) भिसा र व्यावसायिक भिसासम्बन्धी केही घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानमा अनधिकृत व्यक्ति (दलाल)हरूले विदेशी नागरिकलाई विभिन्न किसिमबाट भ्रममा पार्ने र ठगी गरेको तथ्य फेला परेको विभागले जनाएको छ ।

“यस्ता व्यक्तिहरूले नक्कली तथा झुटो कागजात तयार गर्ने, नेपाल बसाइको अवधि गैरकानुनी रूपमा लम्ब्याउने प्रलोभन दिने, सेवा शुल्कका नाममा ठूलो रकम असुल गर्ने तथा गलत कानुनी परामर्श प्रदान गर्ने गरेको पाइएकाले विभागले यस्ता गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको छ,” विभागको सूचनामा भनिएको छ ।

यस्ता कार्यका कारण कतिपय विदेशी अन्जानमा समेत अध्यागमन कानुनको उल्लंघनमा संलग्न हुन पुग्दा गम्भीर कानुनी कारबाही भोग्न बाध्य भएका छन् । विभागको तथ्यांकानुसार प्रत्येक वर्ष जुन महिनादेखि यस्ता ठगी तथा प्रलोभनसम्बन्धी घटना उल्लेखनीय रूपमा बढ्ने गरेको देखिएको छ ।

अध्यागमन कानुनबमोजिम विदेशी नागरिकले एक भिसा वर्षमा पर्यटक भिसामा अधिकतम १५० दिनसम्म मात्र नेपालमा बस्न पाउने व्यवस्था छ । उक्त अवधि समाप्त हुन लाग्दा केही व्यक्तिहरूले नेपालमा लामो समय बस्ने प्रयोजनका निम्ति गैरकानुनी उपाय खोज्ने तथा व्यक्तिहरूको प्रभावमा पार्ने गरेको विभागले जनाएको छ ।

अध्यागमन विभागले भिसा प्रणालीलाई आधुनिक, सरल, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले अधिकांश सेवा अनलाइन एवं स्वचालित प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ ।

सेवा प्रवाहलाई अझ सहज, व्यवस्थित र पारदर्शी बनाउन डिजिटल टाइम कार्ड प्रणाली समेत कार्यान्वयनमा ल्याइसकेको छ । “अहिलेको प्रणालीमा भिसासम्बन्धी सेवा प्राप्त गर्न कुनै पनि तेस्रो पक्षको आवश्यकता पर्दैन,” विभागले भनेको छ ।

#अध्यागमन विभाग

#नेपाल भ्रमण

#विदेशी नागरिक

#दलाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय