कोशीका मन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
nepalpress.com · Fri Jun 19 07:31:19 GMT 2026

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा बिहीबार राति प्रहरी पुगेको विषय अहिले देशव्यापी चर्चा छ । धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्र राईले पनि आजको संसदमा यो विषयमा कुरा उठाएका थिए ।
करिब ११ बजे विराटनगर-३ स्थित मन्त्री पराजुलीको सरकारी निवासमा प्रहरीको टोली पुगेको थियो । मन्त्री पराजुली भने निवासमा थिएनन् । पराजुलीले आफू संखुवासभा गएको बेला प्रहरी निवासमा गएको बताए ।
‘म त संखुवासभातिर छु । छिमेकीहरूले प्रहरी आएको जानकारी गराएपछि मात्रै थाहा पाएँ । के भएको हो प्रहरीले भन्ला नि !’ उनले भने ।
प्रहरीले भने अर्को एक मुद्दाको अनुसन्धानको क्रममा त्यहाँ पुगेको बताएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने मन्त्री निवासमा छापा मारिएको दाबी अस्वीकार गरेका छन् । उनका अनुसार एक व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली गएको थियो ।
‘हामीले छापा मारेका होइनौँ । एउटा सूचना आएपछि प्रहरी त्यहाँ गएको हो,’ एसपी कटुवालले भने, ‘सूचना पुष्टि नभएपछि टोली बाहिरबाटै फर्किएको थियो ।’
अपराधिक घटनामा संलग्न विमल भट्टराईको खोजीमा प्रहरी मन्त्रीको निवास नजिक मात्र पुगेको उनको दाबी छ । मन्त्री निवासका लागि भाडामा लिनुअघि त्यो भवनमा भट्टराई बस्ने गरेको खुलेको प्रहरी स्रोत बताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)