मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्यमशीलता दबाबले होइन, इकोसिस्टमले जन्मिन्छ : गभर्नर पौडेल

aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले उद्यमी वा व्यवसायी जबर्जस्ती सिर्जना गर्न नसकिने भन्दै त्यसका लागि उपयुक्त इकोसिस्टम आवश्यक हुने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा मौद्रिक नीति कार्यान्वयन, वित्तीय क्षेत्रको अवस्था र नीतिगत सुधारबारे भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।

गभर्नर पौडेलका अनुसार नेपाल राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको छ र त्यसको प्रतिफल अन्तर्राष्ट्रिय ब्याजदरमा हुने परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । उनले अमेरिकी ट्रेजरीको ब्याजदर घटबढले नेपालको आम्दानीमा उल्लेख्य प्रभाव पार्ने उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्न सुरक्षित लगानी रणनीति अपनाइएको जानकारी दिए ।

विदेशी लगानीबारे जानकारी दिँदै उनले राष्ट्र बैंकले हाल करिब २२ अर्ब रुपैयाँ बराबरको रकम विदेशमा लगानी गरेको र त्यसको ठूलो हिस्सा अमेरिकी ट्रेजरीमा रहेको बताए । करिब ६० प्रतिशत लगानी अमेरिकी ट्रेजरीमा, बाँकी चिनियाँ र भारतीय ट्रेजरीमा रहेको उल्लेख गर्दै हाल औसत प्रतिफल करिब ३.८ प्रतिशत रहेको जानकारी दिए ।

अमेरिकी ट्रेजरीको ब्याजदरमा १ प्रतिशत गिरावट आएमा नेपालको प्रतिफलमा करिब ३० देखि ३५ अर्ब रुपैयाँसम्म असर पर्न सक्ने जोखिम रहेको उनको भनाइ छ । यस कारण सुरक्षित सम्पत्तिमा लगानी गर्नु बाध्यता भएको पनि उल्लेख गरियो ।

वैकल्पिक व्यवस्थापनका रूपमा सावरेन वेल्थ फन्डको अवधारणामाथि छलफल भइरहेको जानकारी दिँदै केही रकम म्युचुअल फन्ड जस्ता क्षेत्रमा लगानी गर्ने सम्भावनाबारे अध्ययन भइरहेको पनि बताए ।

कृषि कर्जाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको नभई वृद्धि भएको दाबी गरे । २०७६ सालमा करिब २०५ अर्ब रुपैयाँ रहेको कृषि कर्जा २०८३ सम्म आइपुग्दा ७१० अर्ब रुपैयाँ पुगेको तथ्य प्रस्तुत गरियो ।

उद्यमशीलता विकासका लागि केवल मौद्रिक नीतिले मात्र पर्याप्त नहुने स्पष्ट पार्दै उनले व्यवसाय सञ्चालनका क्रममा हुने त्रुटिमा अत्यधिक कठोर कारबाहीले उद्यमी उत्पादनमा बाधा पुग्ने धारणा राखे । राज्यले सहयोगी वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

गभर्नर पौडेलले राष्ट्र बैंकको मुख्य जिम्मेवारी वित्तीय प्रणालीको स्थायित्व कायम राख्नु रहेको दोहोर्याए । विदेशी मुद्रा सञ्चिति अहिले दबाबमा नरहेको र समग्र व्यवस्थापन सन्तुलित अवस्थामा रहेको पनि उल्लेख गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)