मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोसी प्रदेशका आन्तरिक मामिलामन्त्रीको निवासमा मध्यराति प्रहरीको खानतलासी

baahrakhari.com · Fri Jun 19 07:39:03 GMT 2026

विराटनगर । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा मध्यराति प्रहरीले छापा मारेको छ ।

बिहीबार राति ११ बजे विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर खानतलासी गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले बताए । उनका अनुसार प्रहरी के कति कारणले मन्त्री निवासमा खानतलासी गरेको भन्ने खुल्न सकेको छैन ।

राति प्रहरी पुग्दा मन्त्री पराजुली भने निवासमा थिएनन् । आफू कार्यक्रममा सहभागी हुन संखुवासभामा रहेको र राति प्रहरी आफ्नो निवास पुगेको भन्ने जानकारी पाएको उनले बताए । मन्त्री निवासमा प्रहरीको टोलीले विभिन्न कोठामा खोजतलास गरेको थियो ।

यस विषयले संघीय संसद्को प्रतिनिधिसभाको शुक्रबारको बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्रीको अनुपस्थितिमा निवासमा गरिएको भनिएको खानतलासीबारे प्रश्न उठाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले मन्त्री निवासमा एक व्यक्ति लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरी पुगेको बताए । ती व्यक्तिबारे प्रहरीले थप खुलाएको छैन ।

#खानतलासी

#मन्त्रीको निवास

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)