मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : रोकियो पोर्चुगल

annapurnapost.com · Fri Jun 19 07:51:19 GMT 2026

एजेन्सी /ह्युस्टन : उपाधि दावेदार मानिएको युरोपेली राष्ट्र पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा कंगोसँग रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा बुधबार राति भएको खेलमा कंगोले पोर्चुगललाई १–१ को बराबरीमा रोक्दै अंक खोसेको हो।

समूह ‘के’ अन्तर्गतको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल कंगोसँग अंक बाँड्न बाध्य भएको हो। जोआओ नेभेसले खेलको छैटौं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। उनले पेड्रो नेटोले उपलब्ध गराएको पासमा सुन्दर हेड गोल गरेका थिए। तर, ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको कंगोले हार मानेन। पहिलो हाफमै बराबरी गोल फर्काएर पोर्चुगललाई दबाबमा राखेको थियो। कंगोका योहन विसाले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएका थिए। फिफा विश्वकप फुटबलको इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंकसमेत हो। यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकपमा प्रतिस्पर्धा गरेको कंगोले समूह चरणका तीन खेलमा पराजित हुँदा कुनै पनि गोल गर्न सकेको थिएन।

अन्तर महादेशीय प्लेअफमा जमैकालाई १–० गोलले पराजित गर्दै कंगोले ५२ वर्षपछि विश्वकपमा स्थान बनाएको हो। यो बराबरीसँगै सेबास्टियन डेजाब्रेको नेतृत्वमा रहेको कंगोले नकआउट चरण पुग्ने सम्भावना पनि बनाएको छ। यो जितले कंगोले कम्तीमा पनि तेस्रो स्थान हासिल गर्नेछ। यसपाली उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’ बन्ने टोलीलाई अन्तिम ३२ मा प्रवेश गर्ने अवसर रहेकाले एउटा जितले पनि धेरै महत्व राख्दछ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्। उनी अर्जेन्टिनाका लियोनल मेसीपछि लगातार ६ विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्। ४१ वर्षीय रोनाल्डोले दुई सय २९औं अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले दुई सय २९ खेलमा एक सय ४३ गोल गरेका छन्।

इङ्ल्यान्डको सानदार सुरुवात

इङ्ल्यान्डले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरुवात गरेको छ। अमेरिकाको टेक्सासस्थित डालास अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको समूह ‘एल’को खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको हो। इङ्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान हेरी केनले दुई गोल गोल गरेका थिए। यस्तै जुड वेलिङघम र मार्कुस रासफोर्डले एक÷एक गोल गरेका थिए। क्रोएसियाका मार्टिन बाटुरिना र पिटर मुसाले एक÷एक गोल फर्काएका थिए।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले क्रोएसियालाई दबाबमा राख्दै जित निकालेको हो। कप्तान हेरी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। क्रोएसियाका कप्तान लुका मोड्रिचले नोनी मोदुएकेलाई फल गरेपछि इङ्ल्यान्डले पेनाल्टी पाएको थियो। ३६औं मिनेटमा मार्टिन बाटुरिनाले बराबरी गोल फर्काएका थिए। केनले ४२औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इङ्ल्यान्डलाई पुनः अग्रता दिलाएका थिए। क्रोएसिया पिटर मुसाले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएका थिए। दोस्रो हाफको ४७औं मिनेटमा जुड वेलिङघमले गोल गर्दै इङ्ल्यान्डलाई ३–२ को अग्रता दिलाएका थिए। त्यसपछि ८५औं मिनेटमा मार्सक रासफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई सानदार जित दिलाएका थिए।

घानालाई तीन अंक

यसैगरी यही समूहको अर्को खेलमा घानाले पनि महत्वपूर्ण जित निकालेको थियो। क्यानडाको टोरन्टो स्टेडियममा बिहीबार बिहान भएको खेलमा घानाले पानमालाई १–० गोलले पराजित गर्दै तीन अंक जोडेको हो। घानाले इन्जुरी समयमा गोल गर्दै जित सुनिश्चित गरेको हो। बराबरीतर्फ उन्मुख खेलमा कालेब यिरेनकीले गोल गर्दै घानालाई जित दिलाएका थिए।

कोलम्बियाको जित

फिफा विश्वकप २०२६ अन्तर्गत नै बिहीबार बिहान भएको खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ। मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोलले पराजित गरेको हो। कोलम्बियालाई सहज जित दिलाउन डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले एक÷एक गोल गरेका थिए। विश्वकपमा डेब्यु गरेको उज्वेकिस्तानका अब्बासबेक फैजुल्लाएभले एक गोल गरेका थिए।

कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६०औं मिनेटमा अब्बासबेक फैजुल्लाएभले बराबरी गोल गरेका थिए। उनी फिफा विश्वकपमा गोल गर्ने उज्वेकिस्तानका पहिलो खेलाडी पनि बन्न सफल भए। ६५औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३–१ को जित दिलाए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)