बालेन र स्वर्णिमलाई खुश्बु ओलीको प्रश्न : बजेट आउनेबित्तिकै सेयर बजार किन घट्यो ?
ratopati.com · Fri Jun 19 08:27:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट र आर्थिक विधेयकले पुँजी बजार र निजी क्षेत्रमा निराशा पैदा गरेको दाबी गरेकी छन्। प्रतिनिधिसभामा शुक्रबार आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ओलीले बजेट सार्वजनिक भएलगत्तै सेयर बजारमा देखिएको तीव्र गिरावटप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
सांसद ओलीले अर्थमन्त्री स्वर्णिम वाग्लेको आत्मविश्वासमाथि प्रश्न उठाउँदै बजेट वक्तव्य आएकै दिनदेखि सेयर बजार किन ओरालो लाग्यो भनी प्रश्न गरिन् । सामान्यतया बजेटले बजारलाई सकारात्मक संकेत दिनुपर्नेमा नेपालको सन्दर्भमा ठ्याक्कै उल्टो प्रभाव देखिएको उनको तर्क छ। उनले अर्थमन्त्रीको आत्मविश्वास यथार्थमा आधारित छ कि भ्रमजन्य हो भन्दै निजी क्षेत्र, उद्योगी र लगानीकर्ताहरू कोही पनि उत्साहित हुन नसकेको टिप्पणी गरिन्।
विधेयकमा समावेश गरिएका नयाँ करका दरहरूबारे टिप्पणी गर्दै सांसद ओलीले शिक्षा र स्वास्थ्यका नाममा थपिएका ‘समता शुल्क’ ले जनतालाई भार मात्र बढाउने आशंका व्यक्त गरिन्। उनले कर उठाउने संयन्त्र बनाइए पनि त्यसले सरकारी विद्यालय र अस्पतालको गुणस्तर सुधार गर्ने कुनै ग्यारेन्टी नगरेको बताइन्।
उनले भनिन्, ‘समस्या करको दरमा मात्र होइन, हाम्रो संरचनागत ढाँचामै समस्या छ, जसलाई यो विधेयकले सम्बोधन गर्न सकेको छैन ।’ सांसद ओलीले आर्थिक विधेयकको दफा १८ ले सरकारलाई करका दरहरू आफूखुसी हेरफेर गर्न दिएको व्यापक अधिकारप्रति पनि कडा आपत्ति जनाइन्। यस्तो तजबिजी अधिकारले नीतिगत अस्थिरता निम्त्याउने र स्वार्थ समूहको प्रभाव बढ्ने उनको दाबी छ।
संसद्को नियन्त्रणभन्दा बाहिर गएर कर नीति तय गर्दा पारदर्शितामाथि प्रश्न उठ्ने र अर्थ मन्त्रालय विवादमा तानिने उनले चेतावनी दिइन्। आफ्नो सम्बोधनका क्रममा उनले प्रधानमन्त्री बालेन शाहलाई समेत प्रत्यक्ष प्रश्न गर्दै यो बजेट र आर्थिक विधेयकबाट आखिर को उत्साहित भएको छ भनी जवाफ गरिन् ।
कृषि उत्पादकत्व, औद्योगिकीकरण र रोजगारी सिर्जना जस्ता महत्त्वपूर्ण क्षेत्रमा बजेटले ठोस योजना ल्याउन नसकेको उनको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह
स्वर्णिम वाग्ले