इलोन मस्कको स्टारलिंकलाई चुनौती दिन मुकेश अम्बानीले जियो स्याटलाइट नेटवर्क ल्याउने
clickmandu.com · Fri Jun 19 08:38:39 GMT 2026

एजेन्सी । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको ४९औं वार्षिक साधारण सभा शुक्रबार सुरु हुँदैछ ।
यस विशेष अवसरमा रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले इलोन मस्कको स्टारलिंक जस्तै जियोको आफ्नै स्याटेलाइट सञ्चार नेटवर्क घोषणा गर्न सक्ने प्रबल सम्भावना रहेको छ । यसले गर्दा बजारमा ठूलो उत्साह देखिएको छ ।
रिलायन्स जियोले भारतकै अहिलेसम्मको सबैभन्दा महत्त्वाकांक्षी दूरसञ्चार पूर्वाधार परियोजनाको जग गुपचुप रूपमा तयार पारिरहेको छ । कम्पनीले १६ सयदेखि १६ सय ५० वटा स्याटेलाइटहरू समावेश भएको लो अर्थ अर्बिट कन्स्टिलेसनको मूल्यांकन गरिरहेको छ ।
पृथ्वीबाट करिब ६५० किलोमिटरको उचाइमा रहने यस परियोजनाले स्पेस–बेस्ड ब्रोडब्यान्ड र मोबाइल उपकरणमा सिधै कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ । भारतीय राष्ट्रिय अन्तरिक्ष संवद्र्धन र प्राधिकरण केन्द्र (इन–स्पेस) द्वारा मूल्यांकन भइरहेको यस परियोजनाको लागत १० देखि १५ अर्ब डलर हुने अनुमान गरिएको छ । यसलाई आगामी दुई देखि तीन वर्षभित्र कार्यान्वयन गर्ने योजना छ ।
यो परियोजना सफल भएमा विश्वको स्याटेलाइट सञ्चार क्षेत्रमा ठूलो स्तरमा प्रवेश गर्ने यो पहिलो भारतीय कम्पनी हुनेछ । हाल यस क्षेत्रमा इलोन मस्कको स्टारलिंकले करिब १० हजार स्याटेलाइटका साथ विश्वभर प्रभुत्व जमाइरहेको छ ।
यस्तै अमेजनले पनि आफ्नै प्रणाली निर्माण गरिरहेको छ भने भारती ग्रुप समर्थित युटेलस्याट वनवेबले ६०० भन्दा बढी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ ।
व्यावसायिक प्रतिस्पर्धा बाहेक जियोको यो प्रस्ताव भारतको डिजिटल सार्वभौमसत्ताका लागि पनि निकै महत्त्वपूर्ण मानिएको छ । भूराजनीतिक तनाव र युद्धका समयमा विदेशी अन्तरिक्ष नेटवर्कमा भर पर्दा रणनीतिक सुरक्षामा जोखिम हुन सक्ने पाठ विश्वले सिकिसकेको छ ।
त्यसैले भारत सरकारले आन्तरिक कम्पनी जियोलाई अन्तर्राष्ट्रिय दूरसञ्चार संघ मार्फत आवश्यक कक्ष सुरक्षित गर्न सहयोग गर्ने सम्भावना छ ।
यसैबीच विदेशी स्याटेलाइट पूर्वाधार, विशेषगरी स्टारलिंकको डेटा रुटिङ, लाई लिएर भारत सरकारले कडा सुरक्षा चासो देखाएको छ । स्टारलिंकको नयाँ पुस्ताको स्याटेलाइटमा लेजर इन्टर–स्याटेलाइट लिंक प्रविधि प्रयोग गरिएको छ । डेटा अन्तरिक्षमा एक स्याटेलाइटबाट अर्कोमा सिधै पठाउन सकिन्छ । यसले गर्दा भारतीय प्रयोगकर्ताको डेटाले राष्ट्रिय सिमाना नाघेर विदेशी गेटवेमा पुग्न सक्ने सुरक्षा चुनौती निम्त्याएको छ ।
भारत सरकारले घरेलु ट्राफिकलाई विदेशी गेटवे वा शत्रुतापूर्ण क्षेत्रमा पुग्न नदिन कडा सुरक्षा मापदण्ड बनाउँदैछ । जियो र अन्य प्रतिस्पर्धीहरूले यस्तो लेजर लिंक प्रविधि प्रयोग नगर्ने हुनाले उनीहरूका लागि अनुमति पाउन सहज हुन सक्छ ।
स्पेस–एक्सले अमेरिकाबाटै स्याटेलाइट प्रणाली नियन्त्रण गर्ने र युक्रेन तथा पश्चिम एसियाको युद्धमा जस्तै कनेक्टिभिटीलाई जियोफेन्सिङ गरी टाढैबाट परिवर्तन गर्न सक्ने क्षमताले गर्दा पनि भारत सरकार सतर्क छ ।
त्यसैले भारतबाट सुरु हुने कुनै पनि डेटा प्याकेट भारतीय गेटवेमै ओर्लिनुपर्ने कडा नियम पालना गर्नुपर्नेछ । हालसम्म कुनै पनि कम्पनीले आधिकारिक रूपमा सेवा सुरु गर्न अन्तिम सुरक्षा स्वीकृति भने प्राप्त गरिसकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)