डिजिटल फास्टिङ: मानव मूल्य र संवेदनाको खोजी!
setopati.com · Fri Jun 19 09:14:00 GMT 2026

राजमार्गमा तीव्र गतिमा मोटरसाइकल कुदिरहेको हुन्छ, झ्याप्प ट्राफिक बत्ती लाल हुन्छ अनि तुरुन्तै ब्रेक लगाएर मोटरसाइकल रोकिन्छ। डिस्प्लेमा गन्ती सुरु हुन्छ, ५९, ५८......१। त्यसपछि मोटरसाइकल पुरानै गतिमा अगाडि बढ्छ।
त्यो यति बर नरोकिएर रातो बत्ती बल्दा बल्दै पनि जान सक्थ्यो तर ट्राफिक बत्तीले त्यहाँ अंकुश लगाइदियो। त्यसको अवज्ञा गरेको भए ट्राफिक नियमको उल्लङ्घन गरेका कारण जरिवाना हुन्थ्यो, त्यसैले नियमको पालना भयो।
तर यो डिजिटल संसारमा त्यस प्रकारको नियम छैन। यदि हुँदो हो त त्यो नियमको उल्लङ्घन गरी जरिवाना तिर्नेको संख्या बढी हुन्थ्यो, पालना गर्नेको भन्दा। ट्राफिक बत्ती जस्तै कुनै अंकुश हुन्थ्यो भने त्यसलाई नै उखेलेर फाल्थे होला डिजिटल संसारमा बस्ने सभ्य नागरिकहरूले।
डिजिटल प्रविधिसँगको लगाव र निर्भरता यति बढिसकेको छ कि अहिले फलचा र चौतारीमा साथीहरूको भेट हुँदैन, अनलाइनमा भिडियो कल हुन्छ, यो चिया पसलमा भेटौँ न भन्ने कुरा हुन्छ, भेट हुन्छ, चियाको अर्डर पनि हुन्छ, त्यसपछि कति बेला चिया आयो, दुवै साथीलाई थाहा हुँदैन।
त्यही ठाउँको ठाउँ एकअर्कासँग कुराकानी हुँदैन, ‘यो रिल पठाएको छु हेर त’, ‘यो हेर त कति रमाइलो’ जस्ता संवाद हुन्छन्। चिया सेलाइसके पछि बल्ल थाहा हुन्छ कि चिया आइसकेको रहेछ । अनि भन्न थाल्छन् ‘चिया त सेलाएको नै मिठो हुन्छ नि, है।’ तातो चियाको सुर्पो अनि गफको मज्जा त अघि रिल हेर्दा सकेको कुरा थाहा हुँदा हुँदै पनि, झुट स्वीकार गर्छ उनीहरूको मनले।
चिया सेलाएको थाहा नभए झैँ सम्बन्ध चिसिएको पनि थाहा हुँदैन। अन्तरमनको समवेदना इमोजीले व्यक्त गर्न सक्दैन भन्ने कुरा अहिलेको डिजिटल संसारमा लोपोन्मुख अवस्थामा छ। तसर्थ, मानवीय संवेदनाको पुनर्जागरण र मानवीय मूल्यको उत्थानका लागि अत्यावश्यक छ डिजिटल फास्टिङ।
डिजिटल फास्टिङ चाडपर्वहरूमा निराहार रहे जस्तो प्राविधिक संसारबाट टाढा हुनु भन्ने होइन; मानवीय सम्बन्ध, संवेदना र मानव मूल्यको प्राविधिक संसारसँग उचित तालमेल गराउन, डिजिटल संसारबाट आवधिक रूपमा दूरी कायम गर्नु हो। यो फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा अपलोड गरिएका तस्बिरमा लाइक आएको कारण उत्पादन भएको डोपामिनले दिने क्षणिक खुसीभन्दा मोबाइलबाटै टाढा बसेर केही बेर, थोरै नयाँ सोच, सिर्जना, पुराना स्मृतिको सम्झना, सम्बन्धको डोरी मजबुत बनाउँदा प्रचुर मात्रामा रिलिज भएको डोपामिनले दिने नगण्य खुसीको खोजी हो।
शरीर स्वस्थ राख्न शारीरिक व्यायाम गरे झैँ डिजिटल संलग्नता र मानवीय सम्बन्ध स्वस्थ राख्ने व्यायाम डिजिटल फास्टिङ हो। मोबाइल, कम्प्युटर र इन्टरनेट नभए त जीवन नै अन्धकारमय हुन्छ भन्ने मानसिकता विकसित भइसकेको यो समयमा डिजिटल संसारमा भन्दा पर पनि मानवीय संवेदनाको एउटा प्रेमीले संसार छ है भन्दै केही बेर डिजिटल संसारबाट विश्राम लिनु नै डिजिटल फास्टिङ हो।
डिजिटल फास्टिङ के हो? यो कुरा त डिजिटल संसारका सबैलाई नै थाहा छ तर यसको आवश्यकता किन भन्ने कुरा सबैले नबुझेको अवस्था छ। अहिले सामाजिक सञ्जालको प्रयोगले हामी विश्वभरका मानिससँग भर्चुअल रूपमा धेरै नजिक भएका छौँ तर यही सामाजिक सञ्जालकै कारण प्रत्यक्ष रूपमा नजिक भए पनि टाढा भएका छौँ।
एक घरका दुई कोठामा बस्ने भए पनि दुई राष्ट्रभन्दा परको दूरी जस्तो बनेको छ। आमाबुबासँग छोराछोरीले के गर्दै छन्, के खाजा बनाउने भन्ने कुराका लागि फुर्सद छैन, छोराछोरीसँग बुवाआमासँग बोल्ने नै फुर्सद छैन, २० मिनेट गेम खेल्दा समय गएको पत्तो हुँदैन तर २-४ मिनेट कसैसँग समय बिताउँदा सर्वस्व बिते झैँ लाग्छ। आफ्नो र अर्काको स्वास्थ्यको बरु चिन्ता कम होला तर मोबाइलमा चार्ज कति छ भन्ने चिन्ता बढी छ।
बिहान उठेर अरू कार्य भन्दा पहिले मोबाइलको चार्जर कता छ भनेर खोजी हुन्छ । तरकारी डढोस् मतलब छैन यता लाइभ छुट्नु भएन। ठेस लागेर लड्दा रगत आउँदा भन्दा पनि हेडफोन खस्दा चिन्ता हुन्छ। आज कसैको जन्मदिन हो, फेसबुकबाटै शुभकामना दिइन्छ, निमन्त्रणा सबै त्यतैबाट। केही विषयमा समस्या आयो, साथीहरूसँग बसेर छलफल गर्नु समयको नास हो, युट्युब हेरे उति बेलै बुझिन्छ। यस्ता खालका मनोवृत्ति राख्न थालिएको छ।
अब पनि यस्तै व्यवहार निरन्तरता दिने हो र डिजिटल संसारमा सचेत भएर नबस्ने हो भने मानिसलाई अरूभन्दा फरक तुल्याइने विवेक नै ह्रास हुँदै जान सक्छ। सबैलाई जोड्ने कुराले, सम्बन्धमा दरार र फाटो ल्याएपछि के अर्थ प्रविधिको। सबै एकलकाँटे भए के अर्थ समाजमा बस्नु को? प्रविधि त अझै विकसित होला, यहाँभन्दा पनि अझै सहज र सरल बन्ला तर मानव मानव बिचको पर्खाल अझ बढ्दै जाने छ।
सबैजना अरू कुराको वास्तै नगरी मोबाइलमै झुन्डिने हो, स्क्रिनमा नै भुल्ने हो भने त मानिस नभनेर 'घोप्टे' भन्दा पनि फरक पर्ने छैन। सुर्ता सपनामा सबै त्यही डिजिटल दुनियाँमा भएपछि शरीरको पनि ख्याल नरहने अवस्था आउँछ, पछिल्लो समय दृष्टि सम्बन्धी समस्या, गर्धन र ढाड दुख्ने समस्याको वृद्धि हुनुमा पनि प्रविधिको अविवेकी प्रयोगको ठुलो भूमिका छ।
तसर्थ, व्यस्तताका बाबजुद पनि आफ्ना लागि, परिवार, आफन्तजन र समाजको लागि केही समय निकाल्न, डिजिटल स्वास्थ्य सुधार्न र आधुनिकताको उचित फाइदा लिन अहिले डिजिटल फास्टिङ अत्यन्त जरुरी छ। २१ औँ शताब्दीमा आएर प्रविधिबाट टाढा रहनु असामान्य लाग्न सक्छ तर डिजिटल प्रविधिबाट आवधिक विश्राम लिनु अत्यावश्यक छ।
यसका लागि डिजिटल वेलबिङका प्रयास जरुरी छन्। स्क्रिन टाइम व्यवस्थापन गर्ने, एप टाइमर राख्ने, काम उमेरका बालबालिकाहरूका डिभाइसहरूमा प्यारेन्टल कन्ट्रोल राख्ने जस्ता प्रयास गर्नुपर्छ। केही रचनात्मक काम गरेर, आफ्ना नजिककाहरूसँग समय बिताएर, कतै घुम्न निस्केर पनि आवधिक विश्राम लिन सकिन्छ।
यस्तै अनलाइन गेमभन्दा बेग्लै केही रमाइला खेलहरू खेल्न सकिन्छ; नयाँ परिकार बनाउन, हस्तकलाका सामान बनाउन, सफा गर्न, फूल लगाउन, सरसफाइ गर्न, ग्रामीण क्षेत्रमा संलग्न हुन पनि सकिन्छ। यदि गीत सुन्ने बानी छ भने, मोबाइलमै सुन्नु पर्छ, हेडफोन नै लगाउनुपर्छ भन्ने छैन, आफै गुनगुनाउन सकिन्छ।
मोबाइल हेर्दै अनलाइनबाट अर्डर गरेको पिज्जा नै खानुपर्छ भन्ने सोच होइन, आफै नयाँ-नयाँ परिकार बनाउन सकिन्छ। हरेक काममा डिजिटल प्रविधिलाई घुसाउनुको साटो प्रविधिको आवश्यक प्रयोग मात्र गर्ने, सकेसम्म प्रकृतिको नजिक हुने र सिर्जनात्मक कार्यहरूमा व्यस्त रहनुपर्छ। यसो गरेमा मात्र मोबाइल र ल्यापटप जातिको नजिकको दूरी, आफ्ना मान्छे सबैसँग बन्छ र सम्बन्ध सुदृढ बन्छ। निष्कर्षमा डिजिटल फास्टिङ नै डिजिटल स्वास्थ्य सुदृढीकरण र सबल, दरिलो र विश्वासिलो सम्बन्धको आधार हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)