राष्ट्रियसभाको हिउँदे अधिवेशनको तयारी पूरा
lokaantar.com

प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।
राष्ट्रिय सभाको १९औँ अधिवेशनको सञ्चालनका लागि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेको र अधिवेशनका प्राथमिकताका सम्बन्धमा संसदीय दलका सम्बन्धित पदाधिकारीसँग छलफल गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले अधिवेशनको सबै तयारी पूरा भएको र आवधिक कार्यतालिकको क्यालेण्डर शनिबार सार्वजनिक हुने जनाए । प्रवक्ता गिरीका अनुसार पहिलो बैठकमा अधिवेशन आह्वानको पत्र पढेर सुनाइने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)