भारतको छत्तीसगढमा भाजपा नेता सहित ३ जनालाई कारमा जिउँदै जलाइयो
clickmandu.com · Fri Jun 19 09:26:36 GMT 2026

एजेन्सी । भारतको छत्तीसगढ राज्यको कोरिया जिल्लामा बालुवा खानीको पुरानो रिसइबीका कारण भाजपाका एक नेता र उनका दुई आफन्तको वीभत्स हत्या भएको छ ।
मंगलबार साँझ भएको यस घटनामा पीडितहरू सवार कारलाई जानाजानी ठक्कर दिएर आगो लगाइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र फोरेन्सिक विज्ञहरूको भनाइ अनुसार, आरोपितहरूले पीडितहरूलाई जिउँदै जलाउने उद्देश्यले कारमा इन्धन खन्याएर आगो लगाएका थिए ।
यस घटनाको सम्बन्धमा प्रहरीले विशाल, सत्यकुमार, अक्षय र महेन्दर नामका चार दाजुभाइलाई पक्राउ गरेको छ ।
घटना सोनहत तहसीलको काटगोडी गाउँमा भएको हो । ६० वर्षीय भाजपा नेता भारत सिंह आफ्ना आफन्तहरूसहित कारमा यात्रा गरिरहेका बेला आरोपितहरूले टिपर ट्रकले उनीहरूको कारलाई ठक्कर दिएका थिए ।
ठक्करका कारण कारका ढोकाहरू जाम भएर उनीहरू भित्रै थुनिएका थिए । कारमा आगो लागेपछि भारत सिंहको भित्रै जलेर मृत्यु भयो भने उनका ५३ वर्षीय भाइ नगेन्द्र सिंहको ८० प्रतिशत जलेको अवस्थामा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक आफन्त वीरेन्द्र प्रताप सिंहलाई भने आरोपित समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
भाजपा स्रोतका अनुसार, भारत सिंह सन् १९९५ मा पार्टीको समर्थनमा स्थानीय पञ्चायत सदस्य निर्वाचित भएका थिए तर पछिल्लो समय स्वास्थ्य र व्यावसायिक व्यस्तताका कारण उनी सक्रिय पदमा थिएनन् ।
प्रहरीका अनुसार, दुई परिवारबीच बालुवा खानीको व्यापारलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो । घटना हुनुभन्दा एक दिनअघि पनि उनीहरूबीच फोनमा चर्काचर्की र भनाभन भएको थियो । त्यसले अन्ततः हिंसात्मक रूप लिएको बताइएको छ ।
यस घटनालाई लिएर छत्तीसगढमा राजनीतिक आरोप–प्रत्यारोप सुरु भएको छ । विपक्षी कांग्रेसले राज्यमा भाजपा नेताहरूको संरक्षणमा अवैध बालुवा उत्खनन भइरहेको र सोही माफिया गिरोहको आपसी लडाइँले यो हत्या भएको दाबी गरेको छ ।
छत्तीसगढ कांग्रेसका अध्यक्ष दीपक बैजले मृतक र आरोपी दुवै पक्ष भाजपा निकट रहेको आरोप लगाएका छन् । तर, भाजपाले आरोपितहरू पार्टीको कुनै पनि पदमा नरहेको र उनीहरूको पार्टीसँग कुनै आधिकारिक सम्बन्ध नभएको स्पष्ट पारेको छ ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस घटनालाई गम्भीरतापूर्वक लिँदै कडा कारबाहीको निर्देशन दिएका छन् । उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनै पनि दोषीलाई नछाड्ने र कानुन बमोजिम कडा सजाय दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल प्रहरीले पक्राउ परेका चारैजनामाथि हत्या र अन्य फौजदारी अभियोगमा अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)