विश्वकप फुटबल: यात्रा उल्झनबारे इरानले फिफामा उजुरी दिने
nagariknews.nagariknetwork.com · Fri Jun 19 09:35:43 GMT 2026

इरानले सन् २०२६ को विश्वकप दौरान आफूहरूले सामना गरिरहेको यात्रा प्रतिबन्धबारे फिफा समक्ष औपचारिक उजुरी दर्ता गर्ने निर्णय गरेको छ।
सह–आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोमध्ये अमेरिकामा खेल्न जाने क्रममा इरानले विशेष यात्रा नियमको सामना गरिरहेको छ। भिसाको सर्तअनुसार इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको छ भने खेलकै दिन अमेरिका छोड्नुपर्ने व्यवस्था गरिएको छ।
यही व्यवस्थापछि मुख्य प्रशिक्षक अमिर घालेनोईले प्रतियोगितामा आफ्नो टोलीलाई “सबैभन्दा बढी अन्यायमा परेको टोली” भएको टिप्पणी गरेका छन्। इरानले लस एन्जलसमा भएको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
इरान फुटबल महासंघ (एफएफआईआरआई) ले जारी गरेको वक्तव्यमा इरानमाथि लगाइएको यात्रा प्रतिबन्ध विश्वकपमा सहभागी सबै टोलीलाई समान अवसर उपलब्ध गराउने सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ।
संघले यस्तो व्यवस्थाले टोलीको तयारी प्रक्रियामा नकारात्मक असर पर्ने बताएको छ। वक्तव्यमा भनिएको छ, “यी प्रतिबन्धहरू सबै सहभागी टोलीका लागि समान अवस्था सुनिश्चित गर्ने सिद्धान्तसँग मेल खाँदैनन् र यसले टोलीको तयारी प्रक्रियालाई प्रत्यक्ष असर पार्न सक्छ।”
इरानी फुटबल संघले यस विषयमा असन्तुष्टि जनाउँदै फिफासमक्ष औपचारिक रूपमा उजुरी दर्ता गर्ने तयारी गरेको जनाएको छ।
संघले आफ्नो वक्तव्यमा थप उल्लेख गरेको छ, “यसकारण हामी उपयुक्त माध्यममार्फत फिफासँग औपचारिक रूपमा असन्तुष्टि व्यक्त गर्दै उजुरी दर्ता गर्नेछौं।”
विश्वकपकै बीचमा इरानले उठाएको यो विषयले प्रतियोगितामा सहभागी टोलीबीच समान व्यवहार र निष्पक्ष व्यवस्थापनको बहसलाई थप चर्काउने देखिएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा