ऋण लिँदैमा जहाज डुब्ने, आकाश नै खस्ने होइन- अर्थमन्त्री वाग्ले
setopati.com · Fri Jun 19 09:40:41 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
अर्थमन्त्री वाग्लेले नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको बताए।
'ऋण लिँदैमा जहाजनै डुब्ने, आकाश नै खस्ने होइन। माननीयजीहरुबाट नै आईसक्यो। ऋण लिनु खराव होइन, ऋण लिनुपर्दछ। हाम्रो त बाध्यात्मक अवस्था नै छ। कहाँ सदुपयोग गरियो? त्यो उल्लेख्य हो,' उनले भने।
उनले यसमा सांसदहरूले निगरानी गर्नुपर्ने पनि बताए।
'आजको दिनमा पनि रातो किताब हेर्नुभयो भने माननीयजीहरुले देख्नु हुन्छ–बढि सडक पूर्वाधार, ट्रान्टमिभशन लाईन, यस्तैयस्तैमा हो हाम्रो ऋणको लगानी। र, त्यो ऋणको सौन्दर्य के हो भने त्यौ आफै तिरिँदै जाने लगानी हो। त्यसले आर्थिक वृद्धि सिर्जना गर्छ। त्यसले आम्दानी सृजना गर्दछ। ऋण लिएर घिउ खान पो भएनत। उत्पादनमूलक गतिविधिमा लगानी गर्नुहुन्छ,' उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्नसक्ने दाबी समेत गरे। –न्युज एजेन्सी नेपाल
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले