‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
barnanmedia.com · Fri Jun 19 09:54:04 GMT 2026

: प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
उक्त प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले अर्थतन्त्रको आकारको अनुपातमा ऋण भारको तुलना गर्नुपर्नेमा जोड दिँदै पुरानो ऋण रु ३० खर्ब रहेको सभालाई जानकारी गराउनुभयो ।
अर्थमन्त्री डा वाग्लेले आर्थिक अनुशासनभित्र रही बजेट ल्याएको बताउँदै भन्नुभयो, “तुलनात्मक रूपमा ऋण पनि थपिएन र बजेट पनि सन्तुलित आकारको छ । आन्तरिक राजस्व उठाएर बजेट कार्यान्वयन गर्छौँ ।”
उक्त प्रस्तावमाथि सांसदहरु आर्यन राई, परशुराम तामाङ, कृष्णहरि बुढाथोकी, हर्कराज राई, गुरुप्रसाद बराल, पारसमणि गेलाल, बदनकुमार भण्डारी, दीपककुमार साह (सुनसरी), हरिमोहन भण्डारी, ज्ञानु पौड्याल, सूर्यबहादुर तामाङले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
स्वर्णिम वाग्ले