बाँसबारीलाई चेयरमेन कप चेस उपाधि
gorkhapatraonline.com · Fri Jun 19 10:22:04 GMT 2026

काठमाडौँ महानगरपालिका वडा नं. ४ द्वारा आयोजित दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ । उसले एकछत्र वर्चस्व राख्दै उपाधि रक्षा गरेको हो ।
छात्रा र छात्रमा ६ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा बाँसबारीले सर्बाधिक एक सय २७ अंक जोड्दै मुख्य ट्रफी कब्जा गरेको हो । उसले गत वर्ष भएको पहिलो संस्करणको पनि उपाधि जितेको थियो । बालुवाटार प्यालेस ब्यांकेट एन्ड इभेन्ट्समा सञ्चालित प्रतियोगितामा यसपाली दुर्गा भवानी एकेडेमी ३७ अंक बटुल्दै उपविजेता भयो । महेन्द्र राष्ट्रिय मावि २८ अंकसहित तेस्रोमा रह्यो ।
हिमालयन चेस एकेडेमीको व्यवस्थापन रहेको प्रतियोगितामा कामपा–४ का वडाध्यक्ष दिनेश महर्जन, राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल, प्रमाणपत्रलगायत पुरस्कार प्रदान गर्नाुभयो ।
स्वीस लिग प्रणालीको आधारमा आयोजित प्रतियोगितामा २२ विद्यालयका तीन सय चार जना खेलाडी सहभागि थिए । व्यक्तिगत स्पर्धातर्फ कक्षा १ देखि ४ छात्रामा बाँसबारी स्कुलले क्लीनस्वीप गर्यो । छात्रतर्फ एनसीसीएस (नेसनल क्रिएटिभ को–एजुकेसनल स्कुल) पहिलो भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)