विश्वकपमा घातक ट्याकल : क्यानेडियन खेलाडीको खुट्टा भाँचिएको आवाज साइडलाइनसम्मै सुनियो
nepalpress.com · Fri Jun 19 10:30:01 GMT 2026

भ्यानकुभर । फिफा विश्वकप अन्तर्गत कतार विरुद्धको खेलमा क्यानडा ६-० को फराकिलो अन्तरले विजयी भए पनि एउटा बीभत्स चोटले सो जितको खुसीलाई खल्लो पारिदिएको छ ।
क्यानडाका २४ वर्षीय मिडफिल्डर इश्माईल कोनेको खुट्टा भाँचिएपछि उनी लामो समयका लागि मैदान बाहिर हुने भएका छन् ।
भ्यानकुभरको बीसी प्लेस रंगशालामा भएको खेलको ५३औं मिनेटमा कतारका मिडफिल्डर आसिम माडिबोको एउटा खराब ‘ट्याकल’ मा परेर कोन गम्भीर घाइते भएका हुन् । सासुओलोका स्टार कोनेलाई तत्कालै स्ट्रेचरमा हालेर अस्पताल पुर्याइएको थियो ।
क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले आफूले साइडलाइनबाटै कोनेको हड्डी भाँचिएको आवाज सुनेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हड्डी भाँचिएको आवाज प्रष्ट सुनिएको थियो । उसको अवस्था देखेर हामी सबै स्तब्ध छौं ।’
घटनालगत्तै मार्सका एक सहायक प्रशिक्षकले चौथो अफिसियललाई चिच्याउँदै भनेका थिए- उसको खुट्टा झुण्डिरहेको छ । प्रशिक्षक मार्सले कोने टोलीका लागि अपूरणीय क्षति भएको बताएका छन् ।
कोनेको अब शल्यक्रिया गरिनेछ र उनी कम्तीमा ४ देखि ५ महिना मैदान बाहिर रहनेछन् । यसको अर्थ उनले जारी विश्वकपका बाँकी सबै खेलहरू गुमाउने निश्चित भएको छ ।
मैदानबाट बाहिरिँदै गर्दा पीडामा रहेका कोनेले दर्शकहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए ।
खेलमा ह्याट्रिक गरेका क्यानेडियन स्ट्राइकर जोनाथन डेभिडले कतारी खेलाडीको सो ट्याकलको कडा आलोचना गरेका छन् । उनले भने, ‘बल जित्ने कुनै सम्भावना नहुँदा पनि त्यसरी ट्याकल गर्नुको कुनै अर्थ छैन । त्यो केवल खेलाडीलाई चोट पुर्याउनका लागि मात्र गरिएको थियो ।’
कोनेलाई चोट पुर्याउने कतारी खेलाडी माडिबोले रातो कार्ड पाएका थिए । पछि उनले क्यानेडियन टोलीको ड्रेसिङ रुममा पुगेर आफ्नो गल्तीका लागि माफीसमेत मागेका छन् ।
क्यानडाले यो जितसँगै नकआउट चरणको यात्रा लगभग पक्का गरेको छ, तर मुख्य खेलाडीको चोटले टोलीलाई ठूलो धक्का लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा