बर्नह्यामको जितले स्टारमरमाथि दबाब
kendrabindu.com · Fri Jun 19 10:35:28 GMT 2026

विगान (बेलायत) । बेलायतको सत्तारूढ लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामले महत्त्वपूर्ण उपनिर्वाचन जित्दै संसद्मा पुनरागमन गरेका छन् । उनको जितलाई सङ्कटमा परेका प्रधानमन्त्री किर स्टार्मरमाथि थप राजनीतिक दबाब सिर्जना गर्ने घटनाका रूपमा हेरिएको छ ।
सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहँदै आउनुभएका ५६ वर्षीय बर्नह्यामले उत्तरपश्चिम इङ्ग्ल्यान्डको मेकरफिल्ड निर्वाचन क्षेत्रमा दक्षिणपन्थी रिफर्म युकेका उम्मेदवार रोबर्ट केन्यनलाई सहज रूपमा पराजित गरे । उनले करिब ५५ प्रतिशत मत प्राप्त गर्दै नौ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन् । ऐतिहासिक रूपमा उच्च मानिएको ५९ प्रतिशत मतदान भएको उक्त निर्वाचनलाई लेबर पार्टीको भावी नेतृत्वसँग जोडेर हेरिएको थियो ।
विजयपछि बर्नह्यामले आफ्नो पार्टीलाई परिवर्तनको अन्तिम अवसर रहेको सन्देश दिँदै अब सही निर्णय लिनुपर्ने बताए । उनले आफ्नो जित देशको राजनीतिक दिशाका लागि निर्णायक मोड बन्न सक्ने धारणा पनि व्यक्त गरे ।
जुलाई २०२४ देखि प्रधानमन्त्री रहेका किर स्टार्मर हाल पार्टीभित्र र बाहिर दुवैतर्फबाट बढ्दो दबाबमा छन् । गत महिना इङ्ग्ल्यान्ड, स्कटल्याण्ड र वेल्समा सम्पन्न निर्वाचनमा लेबरले निराशाजनक नतिजा बेहोरेपछि उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेका हुन् । विभिन्न नीतिगत यु–टर्न, विवाद तथा वरिष्ठ नेताहरूको असन्तुष्टिले उनको राजनीतिक हैसियत थप कमजोर बनाएको विश्लेषण गरिँदै आएको छ ।
दर्जनौँ लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्न आग्रह गरिसकेका छन् भने केही मन्त्रीहरूले राजीनामा दिएका छन् । यद्यपि स्टार्मरले आफू पद नछोड्ने स्पष्ट गर्दै आमनिर्वाचनमा प्राप्त जनादेशअनुसार पूरा कार्यकाल शासन गर्ने अडान कायम राखेका छन् ।
मेकरफिल्ड उपनिर्वाचनलाई सामान्य निर्वाचनभन्दा बढी महत्त्वका साथ हेरिएको थियो । सत्तारूढ दलभित्र बढ्दो असन्तुष्टिका बीच पूर्व लेबर सांसद जोश साइमन्सले आफ्नो स्थान खाली गरेपछि बर्नह्यामलाई संसद्मा फर्कने अवसर मिलेको थियो । यसले करिब ७७ हजार मतदाता रहेको उक्त निर्वाचन क्षेत्रलाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनाएको थियो ।
लगातार तीन पटक ग्रेटर म्यानचेस्टरको मेयर निर्वाचित भएका बर्नह्यामलाई ‘उत्तरका राजा’ उपनामले समेत चिनिन्छ । सर्वेक्षणहरूले उनी लेबर पार्टीका सबैभन्दा लोकप्रिय नेतामध्ये एक रहेको र प्रत्यक्ष प्रतिस्पर्धा भए स्टार्मरलाई चुनौती दिन सक्ने सम्भावना देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)