मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुली हिरासत मृत्यु प्रकरणमा सरकारको निष्कर्ष: प्रहरी यातनाको प्रमाण भेटिएन

nagariknews.nagariknetwork.com · Fri Jun 19 10:41:55 GMT 2026

सिन्धुलीमा प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको प्रमाण नफेला परेको सरकारको निष्कर्ष सार्वजनिक भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले घटनाबारे गरिएको प्रारम्भिक छानबिनमा प्रहरीबाट दुर्व्यवहार वा यातनाको पुष्टि नभएको जानकारी दिएका हुन्।

गृहमन्त्रीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन तथा पोस्टमार्टम रिपोर्टका आधारमा श्रीकृष्ण विकको मृत्यु आत्महत्यासँग मेल खाने देखिएको सरकारको भनाइ छ।

“पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्यासँग मेल खाने उल्लेख गरिएको छ। साथै हिरासतमा रहँदा प्रहरीले कुनै किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि हुने आधार छानबिन प्रतिवेदनमा फेला परेको छैन,” गृहमन्त्री गुरुङले संसद्मा बताए।

मन्त्रालयका अनुसार छानबिन समितिले घटनासम्बन्धी दिएका अन्य सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाइसकिएको छ।

यसैक्रममा गृहमन्त्री गुरुङले जातीय विभेदसँग सम्बन्धित तथा सामाजिक र धार्मिक रूपमा संवेदनशील मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल प्रहरीभित्र ‘दलित सेल’ सञ्चालनमा ल्याइएको जानकारी पनि दिए।

उनका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो संयन्त्रले पीडितमैत्री अनुसन्धान प्रक्रिया अघि बढाउँदै नागरिकमा न्याय प्रणालीप्रति विश्वास बढाउने उद्देश्य राखेको छ।

संसद्मा उठेका प्रश्नप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले यो घटनाको थप अध्ययन जारी रहने र आगामी दिनमा प्राप्त हुने नयाँ जानकारीबारे संसद्लाई पुनः जानकारी गराइने प्रतिबद्धता व्यक्त गरे।

सिन्धुली हिरासत मृत्यु प्रकरणले पछिल्ला दिनमा मानवअधिकार, प्रहरी हिरासत सुरक्षा र न्यायिक प्रक्रियाको पारदर्शितामाथि बहसलाई थप चर्काएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय