मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री तिमिल्सिना

nagariknews.nagariknetwork.com · Fri Jun 19 10:49:38 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचान र राष्ट्रिय आत्माको अभिव्यक्ति भएको बताएका छन् ।

आज राष्ट्रपनि भवन शीतलनिवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह–२०८३’ कार्यक्रममा उनले कुनै राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने बताए ।

“चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त गरिरहेको हुन्छ, समाजको मनोविज्ञानलाई उजागर गरिरहेको हुन्छ र भविष्यको एउटा सम्भावित कल्पना पनि गरिरहेको हुन्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने ।

उनले कलाकारहरू समाजकै सदस्य भए पनि सामान्य मानिसभन्दा बढी संवेदनशील दृष्टि भएका व्यक्तित्व भएको उल्लेख गर्दै कला र सिर्जनाले विभाजित समाजलाई मानवीय सम्बन्ध, सहअस्तित्व र संवेदनाको पाठ सिकाउने बताए ।

कलाकारलाई सम्मान गर्नु भनेको व्यक्तिलाई मात्र नभई समाजको सिर्जनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उनको भनाइ थियो । जीवनभर चलचित्र क्षेत्रमा योगदान पु‍र्याएका व्यक्तित्वलाई सम्मान गर्दा आफूहरूले कलाकारलाई नभई आफ्नै समाज र संस्कृतिलाई सम्मान गरेको अनुभूति भएको पनि उनले बताए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले कठिन परिस्थितिका बाबजुद नेपाली चलचित्र उद्योगले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै पुराना पुस्ताका चलचित्रकर्मीको अथक परिश्रमकै कारण नेपाली चलचित्र आजको अवस्थामा आइपुगेको उनले स्मरण गरे ।

उनले नेपाली चलचित्र क्षेत्रको अपेक्षाअनुसार समयसापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।

“नयाँ चलचित्र ऐन समयसापेक्ष, व्यावहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्छ । चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध छ, र म आज पुनः यही प्रतिबद्धता दोहोर्याउन चाहन्छु,” उनले भने ।

चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मानबाट यसवर्ष अभिनेता मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरिएको छ । त्यस्तै, उत्कृष्ट चलचित्रका रुपमा ऊनको स्वीटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपकप्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्र इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन् ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)