जियोको आईपीओ ल्याउँदै मुकेश अम्बानी
nepalpress.com · Fri Jun 19 11:30:30 GMT 2026

काठमाडौं। रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) का अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले डिजिटल सेवा कम्पनी जियो प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।
शुक्रबार कम्पनीको ४९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अम्बानीले जियो प्लेटफर्म्सले भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) समक्ष आईपीओसम्बन्धी प्रारम्भिक कागजात (ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस–डीआरएचपी) पेश गर्ने जानकारी दिएका हुन्।
रिलायन्स इन्डस्ट्रिजले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यअनुसार जियो प्लेटफर्म्सको सञ्चालक समितिले डीआरएचपीलाई स्वीकृति दिइसकेको छ र उक्त कागजात शुक्रबार नै सेबीमा दर्ता गरिनेछ।
अम्बानीले भने, “जियो प्लेटफर्म्सको बोर्डले डीआरएचपीलाई अनुमोदन गरिसकेको छ र आज सेबीमा पेश गरिनेछ। यो मेरो, सम्पूर्ण रिलायन्स परिवार र लाखौं शेयरधनीका लागि अत्यन्त भावुक क्षण हो।”
उनले रिलायन्स र उसका शेयरधनीबीचको सम्बन्ध गर्व, विश्वास, सम्मान र साझा प्रगतिमा आधारित गहिरो तथा पवित्र सम्बन्ध भएको पनि बताए।
जियो प्लेटफर्म्स रिलायन्स समूहको डिजिटल सेवा व्यवसाय सञ्चालन गर्ने प्रमुख कम्पनी हो, जसअन्तर्गत दूरसञ्चार, डिजिटल प्रविधि तथा विभिन्न अनलाइन सेवाहरू समेटिएका छन्।
कम्पनीको आईपीओलाई भारतीय पुँजी बजारकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासनमध्ये एक मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)