वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
ratopati.com · Fri Jun 19 11:42:34 GMT 2026

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले डेढ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।
डाका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि बाल सुधार गृहमा राखिएका दुवै बालक आज दिउँसो शौचालयको भेन्टिलेसन फुटाई फरार भएका थिए ।
पक्राउ पर्नेहरूमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका–३ बस्ने वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह रहेका छन् । उनीहरू आज दिउँसो करिब १३:२० बजेको समयमा बाल सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाई सुरक्षाकर्मीलाई छलेर भागेका थिए ।
बालकहरू फरार भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी तत्कालै व्यापक खोजतलास सुरु गरिएको थियो । खोजतलासकै क्रममा प्रहरी टोलीले दिउँसो करिब १५:३० बजेको समयमा नेपाल-भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकैबाट दुवै जनालाई नियन्त्रणमा लिन सफल भयो ।
भारततर्फ फरार हुन लागेको अवस्थामा उनीहरूलाई सीमा नाकामै समातिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै बालकलाई पुनः नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)