प्रशासनतन्त्रमा रूपान्तरण कहिले ?
rajdhanidaily.com · Wed Feb 22 23:28:23 GMT 2023
प्रशासनतन्त्रको कुरा गर्दा बेवेरियन अड्डातन्त्रको कुरा विश्वव्यापीरूपमा चर्चा हुने गर्दछ । माक्स वेबरले प्रशासनिक कार्यबाट सबै व्यक्तिगत, विवेकहीन र भावुक कार्य पूर्णरूपमा पन्छाउन सक्नु नै प्रशासनतन्त्रकोे समुचित विकास गर्नु हो, भनेका छन् । यसको अर्थ कर्मचारी सक्षम, प्रभावकारी, विवेकी र सेवामुखी हुनुपर्छ भन्ने हो । हाम्रो देशको सन्दर्भमा प्रशासनतन्त्रमा उल्लेखित गुणहरूको अभाव देखिन्छ । कर्मचारीतन्त्र प्रभावकारी बन्न नसकेको सबैले स्वीकार गरेको अवस्था छ । कुनै पनि सेवाग्रहीले समयमा सेवा पाउन नसकेको जनगुनासो छ । प्रशासनिक कार्यशैली ढिलासुस्तीका कारण विकास निर्माणका कार्यहरू समयमा सम्पन्न हुन सकेका छैनन् ।
देशको प्रशासनतन्त्रलाई स्थायी सरकार भनिन्छ । स्थायी सरकार लोकतान्त्रिक नभएसम्म विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी हुन सक्दैन । राज्यले बनाएका नीतिनियम तथा कार्य योजनालाई कार्यान्वयन गर्ने संयन्त्र प्रशासनतन्त्र हो । स्थायी सरकाररूपी कर्मचारीतन्त्रको बारमा विभिन्न कालखण्डमा बन्ने सरकारले पनि असन्तुष्टि व्यक्त गरेको पाइन्छ तर यसको रूपान्तरणका लागि कुनै कार्य गरेको पाइँदैन । नेपाल सरकारका अड्डाबाट प्रवाह हुने सेवामा ढिलासुस्ति हुने, सेवाग्राही सानो कामका लागि भोलिको भाखा लिएर फर्कनुपर्ने, अर्को दिन जाँदा हाकिमहरू मिटिङमा गएको भनेर फर्काउने जस्ता कार्यहरू कर्मचारीका लागि सामान्य कुरा हुन् । सार्वजनिक सेवा अत्यन्त कमजोर, गैरजिम्मेवार भइदिँदा आमजनताले लोकतन्त्रको अनुभूति गर्न सक्दैनन् । त्यसैले प्रशासनतन्त्रको रूपान्तरण अनिवार्य सर्त हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)