पोखरा महानगरले ल्यायाे ७ अर्ब १५ करोडको बजेट, पुँजीगततर्फ ४४.९ प्रतिशत खर्च
arthadabali.com · Fri Jun 19 11:55:51 GMT 2026

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरे भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औँ नगर सभामा बजेट सार्वजनिक गरिन् ।
महानगरले 'समुन्नत पर्यटकीय पोखरा निर्माण' गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको छ । बजेटमध्ये चालुतर्फ ५५.१ प्रतिशत र पुँजीगततर्फ ४४.९ प्रतिशत खर्च गर्ने योजना रहेको छ ।
स्रोत व्यवस्थापनअनुसार संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसअन्तर्गत सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, पूरक अनुदान १ करोड ८२ लाख र समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । महानगरले आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
राजस्व बाँडफाँटमार्फत संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय स्रोतबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
महानगरले चालु आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, जेठ मसान्तसम्म कुल बजेटको करिब ४० प्रतिशत मात्र खर्च भएको छ ।
त्यसमा चालु खर्च ६१.७ प्रतिशत पुगे पनि पूँजीगत खर्च निकै कमजोर देखिएको छ । पूँजीगततर्फ विनियोजित ४ अर्ब ८३ करोडमध्ये केवल २४.२ प्रतिशत मात्र खर्च भएको महानगरको तथ्यांकमा उल्लेख छ ।
राजस्व सङ्कलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । ४ अर्ब ६१ करोड ४० लाख रुपैयाँको आन्तरिक आय लक्ष्यमध्ये जेठ मसान्तसम्म ४६.०२ प्रतिशत मात्र सङ्कलन भएको छ ।
सम्बन्धित विषय:
# पोखरा महानगरपालिका
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)