हुम्ला पुग्यो २३ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र
gorkhapatraonline.com · Fri Jun 19 12:25:47 GMT 2026

हिमाली जिल्ला हुम्लाको जिल्ला प्रशासन कार्यालयमा २३ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र तयार भएर आइपुगेका छन् । गत असोज महिनामा जिल्लाका सात वटै गाउँपालिकामा गृह मन्त्रालय आएको पाँच वटा टोलीले राष्ट्रिय परिपत्रका लागि लिएको विवरणबाट तयार भएपछि ती परिचय पत्र यतिबेला जिल्ला आइपुगेका हुन् ।
गत असोज महिनामा राष्ट्रिय परिचय पत्रका लागि सात वटै गाउँपालिकामा पुगेर सेवाग्राहीहरुको लिएको विवरणबाट परिचय पत्र तयार भएको र यतिबेला कार्यालयमा ती परिचय आइपुगेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । हाल आइपुगेका परिचय पत्र २३ हजार ३३३ थान रहेका छन् ।
त्यतिबेला पाँच वटा टोलीले जिल्लाका ४४ मध्य ४२ वटा वडामा पुगेर राष्ट्रिय परिचय पत्रका लागि विवरण कम्प्युटरमा प्रबिष्ट गरेर लगेको थियो । त्यसका आधार परिचय पत्र तयार भएपछि गृह मन्त्रालयबाट जिल्लामा पुगेको र अब ती परिचय पत्र बितरण कार्य गरिने उहाँले बताउनुभयो । उहाँले कार्यालयले सेवाग्राहीको केही विवरणहरु परिचय पत्र बुझाउनु पर्ने बेला पनि लिनु पर्ने भएको कारण सम्वन्धित व्यक्ति कार्यालयमा आएर लिनु पर्ने भएको कारण जति सक्दो चाँडो कार्यालयमा आउन आग्रह गर्नुभयो ।
राष्ट्रिय परिचय पत्र कार्यालयमा पुगेपछि उक्त परिचय पत्र लिन सेवाग्राहीहरु दैनिक पचास साठी जना आउने गरेको उहाँको भनाइ छ । पछिल्लो पटक ठुलो संङ्ख्यामा राष्ट्रिय परिचय पत्र कार्यालयमा पुगेपछि मात्र तीन हजार ४४ थान सेवाग्राही स्वयम उपस्थित भएर लिनु भएको उहाँले बताउनुभयो । ठुलो संख्यामा परिचय पत्र पुगेपछि अब कार्यालयले ती स्वयम व्यक्ति लिनका लागि आउन सूचना पनि जारी गर्ने र सम्वन्धित गाउँपालिकासँग पनि समन्वय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
टोलीले गाउँगाउँमा पुगेर सेवाग्राहीको बिबरण लिनु भन्दा अगाडी जिल्लामा छ हजार थान परिचय पत्र जिल्ला प्रशासन कार्यालयमा आई पुगेका थिए । पहिले र पछिल्लो गरि अठ्ठाईस हजार भन्दा बढी उक्त परिचय पत्र तयार भएर जिल्लामा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)