मन्त्रिपरिषद्का ६ प्रमुख निर्णय सार्वजनिक
nagariknews.nagariknetwork.com · Fri Jun 19 12:23:55 GMT 2026

नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ६ प्रमुख निर्णय गरेको छ । जसमा विभिन्न कानुन संशोधन, सहकारी क्षेत्र सुधार तथा महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णयहरू गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा कैलालीका डा गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले सहकारी क्षेत्रको नियमन र सुधारलाई प्राथमिकतामा राख्दै सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। बचत तथा ऋण सहकारीको नियमन तथा सुपरीवेक्षण सम्बन्धी छुट्टै विधेयक तर्जुमाका लागि पनि सैद्धान्तिक सहमति प्रदान गरिएको छ।
त्यसैगरी, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न सरकारलाई स्वीकृति दिइएको छ।
बैठकले संघीय संसद्मा चारवटा प्रतिस्थापन विधेयक पेस गर्ने निर्णय समेत गरेको छ। उक्त विधेयकमा सहकारी ऐन, २०७४ संशोधन विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ संशोधन विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ संशोधन विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक रहेका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)