विश्वकप ‘हाइलाइट्स’ मा परिमार्जन गर्दै बीबीसीले हटायो खेलाडीको हड्डी भाँचिएको आवाज
nepalpress.com · Fri Jun 19 12:37:25 GMT 2026

काठमाडौं । क्यानडा र कतारबीचको विश्वकप खेलका क्रममा क्यानेडियन मिडफिल्डर इश्माईल कोनेको खुट्टा भाँचिएको डरलाग्दो आवाज प्रसारण भएपछि बीबीसीले आफ्नो ‘हाइलाइट्स’ भिडियो परिमार्जन गरेको छ ।
भ्यानकुभरको बीसी प्लेस रंगशालामा भएको सो खेलमा २४ वर्षीय कोने गम्भीर घाइते भएका थिए । खेलपछि बीबीसीको ‘आई-प्लेयर’ मा राखिएको हाइलाइट्समा रंगशालाको माइकले समातेको कोनेको हड्डी भाँचिएको स्पष्ट आवाज सुनिएको थियो ।
सो संवेदनशील आवाजले दर्शकहरूलाई विचलित बनाउन सक्ने भन्दै आलोचना भएपछि बीबीसीले भिडियोबाट उक्त आवाज हटाएको (म्युट गरेको) हो । भिडियोमा चोट लागेको दृश्य यथावत् राखिएको छ, तर त्यसको ‘क्लोज-अप’ वा ‘रिप्ले’ भने देखाइएको छैन ।
बीबीसीका एक प्रवक्ताले भने, ‘इस्माईल कोनेको चोटको संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले आई-प्लेयरमा रहेको अडियो सम्पादन गरेका छौँ । हामीले खेलाडी पीडामा रहेको दृश्य वा ट्याकलको रिप्ले नदेखाउने गरी सबै उपयुक्त उपायहरू अपनाएका छौँ । हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले पनि आफूले मैदानको छेउ (टचलाइन) बाटै कोनेको हड्डी भाँचिएको आवाज सुनेको बताएका थिए । उनले कोनेको खुट्टा ‘झुण्डिरहेको’ अवस्थामा रहेको र यो टोलीका लागि ठूलो क्षति भएको बताएका छन्।
कोने घाइते भएपछि उनको स्थानमा मैदान प्रवेश गरेका नाथन सालिबाले फ्रि-किकमार्फत गोल गरेपछि कोनेको जर्सी देखाउँदै उनीप्रति सम्मान व्यक्त गरेका थिए । हाल इटलीको सासुओलो क्लबमा आबद्ध कोनेले यसअघि वाटफोर्ड र मार्सेजस्ता प्रतिष्ठित क्लबबाट खेलिसकेका छन् ।
क्यानडाका लागि ४२ खेल खेलिसकेका कोनेको अब शल्यक्रिया गरिनेछ र उनी कम्तीमा ४ देखि ५ महिना मैदान बाहिर रहनेछन् । उक्त खेलमा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)