दुई महिनापछि सेबोनले पायो नयाँ नेतृत्व, डा. गोपाल भट्ट अध्यक्ष नियुक्त
nagariknews.nagariknetwork.com · Fri Jun 19 12:34:35 GMT 2026

लामो समयदेखि नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्ततः नयाँ अध्यक्ष पाएको छ। सरकारले शुक्रबार नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भट्टलाई धितोपत्र बजारको नियामक निकायको नेतृत्व सुम्पने निर्णय गरेको हो। यसअघि तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि करिब दुई महिनादेखि बोर्ड नेतृत्वविहीन अवस्थामा थियो।
नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकमा लामो समय कार्यरत रही कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त व्यक्ति हुन्। वित्तीय क्षेत्र र नियामक संरचनामा उनको अनुभवलाई ध्यानमा राख्दै सरकारले जिम्मेवारी दिएको बुझिएको छ।
सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया भने यसपटक सुरुदेखि नै विवादमा तानिएको थियो। सरकारद्वारा गठन गरिएको प्रारम्भिक छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट संयोजक थिए। तर समितिमा आवेदन दिएका उम्मेदवारमध्ये आफ्नै नाताले दाजु पर्ने गोपाल भट्ट समेत परेपछि स्वार्थ बाझिने प्रश्न उठ्यो। त्यसपछि गुणाकर भट्टले संयोजक पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामापछि सरकारलाई समिति पुनर्गठन गर्नुपरेको थियो। पुनर्गठित समितिको नेतृत्व राष्ट्रिय योजना आयोगका सदस्य सञ्जय आचार्यले गरेका थिए। समितिले अन्तिम चरणमा चार जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस सूचीमा डा. गोपाल भट्टसँगै बोर्डका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मुकुन्द क्षेत्री रहेका थिए।
चार जनाको नाम अन्तिम सिफारिसमा परे पनि सरकारले लामो समय निर्णय नगर्दा धितोपत्र बजार, लगानीकर्ता र वित्तीय क्षेत्रबाट अध्यक्ष नियुक्ति प्रक्रिया चाँडो टुंग्याउन दबाब बढ्दै गएको थियो।
अब नयाँ अध्यक्ष भट्टसमक्ष पूँजी बजार सुधार, नियामकीय विश्वसनीयता कायम गर्ने, लगानीकर्ताको विश्वास बढाउने तथा धितोपत्र बजारमा देखिएका पछिल्ला चुनौती समाधान गर्ने मुख्य जिम्मेवारी रहने देखिएको छ।
सेबोन नेतृत्वको नयाँ नियुक्तिसँगै नेपालको पूँजी बजारले आगामी दिनमा नयाँ दिशा लिने अपेक्षा गरिएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)