उच्च अदालतबाट पनि भट्ट र अग्रवाल पुर्पक्षका लागि जेल चलान
baahrakhari.com · Fri Jun 19 12:46:53 GMT 2026

काठमाडौं । बैंकिङ कसुर अभियोगमा मुद्दा चलाइएका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । शुक्रबार (असार ५) बयान र थुनछेक बहस सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो ।
बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । जगदम्बा स्टील्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमोतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको दाबी अभियोगपत्रमा गरिएको छ ।
उनीहरूले बैंकलाई भ्रममा पारी कर्जा दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख छ । दुवैजनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कारबाहीको माग दाबी गरिएको छ ।
यता, भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा २६ करोडभन्दा बढी विगो दाबी गर्दै विशेष अदालतमा पनि मुद्दा दायर भएको छ । विशेष अदालतले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएइको थियो ।
विशेष अदालतमा चलेको मुद्दामा पनि दुवैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनीहरूसँगै मुद्दा चलाइएका व्यावसायी साहिल अग्रवाल र शंकरलाल अग्रवाललाई अभियोगपत्रमा फरार जनाइएको छ ।
यता, धितोपत्र र बिमा ऐनविरुद्धको कसुरमा समेत भट्ट, सुलभ अग्रवाल र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा समेतलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा पनि अभियोगपत्र दर्ता भएको छ ।
#उच्च अदालत
#दीपक भट्ट
#सुलभ अग्रवाल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बेचन झा