बैंकहरूलाई सेयर लगानीमा लगाइएको सीमा खुकुलो बनाउन रास्वपाको सुझाव
onlinekhabar.com · Fri Jun 19 12:51:52 GMT 2026

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको सीमा खुकुलो बनाउन सुझाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई सुझाव दिँदै रास्वपाले सेयर लगानी सीमा पुनरावलोकन गर्न भनेको हो ।
रास्वपाको मुद्रा तथा पूँजीबजार विभागका प्रतिनिधिले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई भेटेर सेयर धितो कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक ऋण र धितो अनुपात निर्धारण गर्ने व्यवस्था गर्न सुझाएको हो ।
सेयर धितो कर्जाको सीमा कुल कर्जा प्रवाहको आधारमा निर्धारण गर्न समेत रास्वपाले सुझाएको छ । त्यसैगरी आगामी मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई पूँजीबजारमा लगाइएको लगानी बन्देज खुकुलो बनाउन सुझाएको हो । बैंकहरूले हाल प्राथमिक पूँजीको ३० प्रतिशत बराबर रकम सेयर बजारमा लगानी गर्न सक्छन् । यसरी गरिएको लगानी ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था छ ।
पूँजीबजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षाकोष, म्युचुअल फण्ड, नागरिक लगानी कोष लगायत संस्थालाई बजारमा सहभागिता गराउन आवश्यक सहजीकरण गरिदिन समेत रास्वपाले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
त्यसैगरी केन्द्रीय केवाईसी डिजिटल इन्ट्रीग्रेसनको व्यवस्था गर्न समेत सुझाएको छ । सेन्ट्रल बैंक केवाईसी प्लेटफर्म लागु गरी लगानी प्रक्रिया छिटो र सरल बनाउन रास्वपाले सुझाएको छ ।