मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुरको मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान

nepalviews.com · Fri Jun 19 13:00:10 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दाका प्रतिवादी व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

उच्च सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। शुक्रबार बयान र थुनछेक बहस सम्पन्न भएपछि न्यायाधीश ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अभियोगपत्रअनुसार जगदम्बा स्टील्सका लागि लिइएको 'वर्किङ क्यापिटल लोन' प्रयोजनविपरीत प्रयोग गरिएको आरोप छ। भट्ट र अग्रवालको मिलेमतोमा उक्त रकम इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गर्न तथा जग्गा खरिदका लागि बैना दिन प्रयोग गरिएको दाबी गरिएको छ।

उनीहरूले बैंकलाई भ्रममा पारी कर्जा दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कारबाहीको माग गरिएको छ।

यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि उनीहरूविरुद्ध २६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा पनि विशेष अदालतले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बैंकिङ कसुरसम्बन्धी यही मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी साहिल अग्रवाल र शंकरलाल अग्रवाल भने फरार रहेको अभियोगपत्रमा उल्लेख छ।

यस्तै, धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरसम्बन्धी अर्को मुद्दामा पनि दीपक भट्ट, सुलभ अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासहितलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय