मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ प्रशासन भन्छः अपराधी खोज्न छिरेको मन्त्री क्‍वाटर परेछ

nagariknews.nagariknetwork.com · Fri Jun 19 13:14:57 GMT 2026

बिहीबार मध्यराति प्रहरीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा पुगेको घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा रहेको मन्त्री निवासमा बिहीबार मध्यराति प्रहरी पुगेको हो।

प्रहरी मन्त्री निवासमा पुग्दा मन्त्री पराजुली जिल्ला बाहिर रहेका थिए। मध्यरातमा प्रहरी पुगे पनि कसैलाई पक्राउ नगरी वा कुनै धरपकड नगरी फर्किएको मन्त्रीको सचिवालयले जनाएको छ। तर, किन र के कारणले मध्यरातमा मन्त्रीको क्वाटरमा कसैलाई जानकारी नै नदिई प्रहरी पुगेको भन्नेबारे आफूहरू अनभिज्ञ रहेको सचिवालयको भनाइ छ।

मन्त्रीको सचिवालयका अनुसार प्रहरी मध्यरातमा पर्खाल नाघेर भित्र प्रवेश गरेको थियो। मन्त्री निवास वरिपरि घुमेर केही खोजेजस्तो गरेर प्रहरीले कुनै जानकारी नदिई फर्किएको बताइएको छ।

फरार अभियुक्तको खोजीका क्रममा प्रहरी उक्त स्थानसम्म पुगेको बताउँदै मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कटेलले भने, “त्यहाँ पुगेको प्रहरीलाई त्यो मन्त्रीको क्वाटर हो भन्ने जानकारी थिएन। एक जना अभियुक्त सोही घरमा लुकिछिपी बसेको हुनसक्ने सूचनाका आधारमा प्रहरी टोली रेकी गर्न पुगेको थियो। अपरेसनमा खटिएको प्रहरीलाई उक्त घर मन्त्री क्वाटर भएको पूर्वजानकारी थिएन।”

सिडिओ कटेलका अनुसार प्रहरी टोली अभियुक्तकै पिछा गर्दै त्यहाँ पुगेको हो। “मन्त्रीलाई लक्षित गरेर कुनै कारबाहीका लागि प्रहरी त्यहाँ पुगेको होइन। अभियुक्त त्यहाँ बस्ने गरेको सूचना थियो, तर प्रहरी पुग्नुअघि नै उनी स्थान परिवर्तन गरिसकेका रहेछन्,” उनले भने।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले पनि पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीको खोजीका क्रममा प्रहरी पुष्पलाल चोक क्षेत्रमा पुगेको बताए। उनका अनुसार असार १ गते पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीको खोजीका क्रममा प्रहरी उक्त क्षेत्रमा पुगेको थियो। “माननीय मन्त्री इन्द्रमणि पराजुलीको निवास पनि त्यही क्षेत्रमा रहेछ,” उनले बताए।

तर मन्त्री पराजुलीको निवासभित्र प्रहरी प्रवेश नगरेको र खानतलासी नगरिएको दाबी डीएसपी मिश्रले गरेका छन्। उनले भने, “प्रहरी टोली फरार प्रतिवादीको खोजीमा उक्त क्षेत्रमा पुगेको हो, तर मन्त्री निवासभित्र प्रवेश गरेर खानतलासी गरेको भन्ने कुरा सत्य होइन।”

प्रहरी स्रोतका अनुसार केही दिनअघि स्थानीय दुई पक्षबीच झगडा भएको थियो। सो घटनामा फरार भनिएका विमल भट्टराईले अर्का व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गरेको बताइएको छ। कुटपिटबाट घाइते भएका व्यक्तिको अवस्था गम्भीर रहेको र अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा पक्राउ पुर्जी जारी भएका भट्टराई सोही क्षेत्रमा लुकेर बसेको सूचनाका आधारमा प्रहरी पुगे पनि उनलाई फेला पार्न नसकेको प्रहरी स्रोतको भनाइ छ।

मन्त्रीको निवासमा प्रहरीले खानतलासी गरेको विषय प्रतिनिधिसभामा समेत उठेपछि यो घटना सार्वजनिक भएको हो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)