बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
ratopati.com · Fri Jun 19 13:40:06 GMT 2026

बैतडी । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक खण्डमा बुधबार साँझ एउटा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ करिब ५ बजेर ४० मिनेटमा दशरथचन्द नगरपालिका–४, साईलकमा अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको हो ।
बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।
बसमा चालकसहित जम्मा १२ जना सवार थिए । घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहे पनि एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।
घाइते हुनेहरूको विवरण
लक्ष्मी ऐरी २७ वर्ष – सामान्य चोट
हेम विक्रम जोशी ९८ वर्ष – सामान्य चोट
पूर्ण देवी जोशी ६० वर्ष– सामान्य चोट
पुजा कार्की २१ वर्ष– हातमा चोट (सामान्य)
ललिता लावड २० वर्ष– सामान्य चोट
विजय सिंह थापा वर्ष नखुलेको
जानकी लावड ३२ वर्ष – टाउकोमा चोट सामान्य
लक्ष्मी साउद ३० वर्ष– टाउकोमा चोट सामान्य
कर्ण देव भट्ट ५२ वर्ष० – सामान्य चोट
कविराज भट्ट ३५ वर्ष – शरीरमा चोट मध्यम
बस चालक बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३७ वर्षीय केशव सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)