नेपाल भित्रियो मनसुन, कोशी प्रदेशबाट औपचारिक सुरुआत
nagariknews.nagariknetwork.com · Fri Jun 19 13:46:53 GMT 2026

नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रूपमा भित्रिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार मनसुन नेपालमा प्रवेश गरेको जनाएको हो।
विभागका अनुसार बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ। हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेश का केही क्षेत्रमा देखिएको छ।
मौसमविद्का अनुसार अहिले मनसुन कमजोर अवस्थामै रहे पनि आगामी केही दिनमा क्रमशः देशका अन्य भूभागमा समेत फैलिने सम्भावना रहेको छ। मनसुन सक्रिय भएसँगै पूर्वी क्षेत्रमा वर्षा हुने क्रम बढ्ने र विस्तारै देशभर यसको प्रभाव देखिन सक्ने विभागले जनाएको छ।
विभागले मनसुनी प्रणालीको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै वर्षायाम सुरु भएसँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
नेपालमा सामान्यतया मनसुन जुन महिनाको मध्यतिर प्रवेश गर्ने गर्दछ र सेप्टेम्बरसम्म यसको प्रभाव रहने गर्छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)