ब्रेकिङ बाउन्ड्रीज अन्तर विद्यालय क्रिकेट सुरु
neplays.com · Fri Jun 19 13:53:00 GMT 2026
काठमाडाैं। पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ।
किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले १३ ओभरमा ४४ रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो। जवाफमा बाराहीले ३.४ ओभरमा मात्र २ विकेटको क्षतिमा जित निकाल्यो।
सोही मैदानमा भएको अर्को खेलमा ताल बाराही माविले पार्दी माविलाई ३० रनले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै ताल बाराहीले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८३ रन बनाएको थियो। जितका लागि ८४ रनको लक्ष्य पछ्याएको पार्दी मावि १३ ओभरमा ५३ रनमै समेटिन पुग्यो।
त्यसैगरी छात्रतर्फ शुक्रराज मावि र शहीद स्मृति मावि विच भएको अर्को खेलमा शहिद मावि २ विकेटले विजयी भयो। सो खेलमा शुक्रराजका राज तामाङ प्लेयर अफ द म्याच बने। छात्रातर्फ भएको यि दुई विद्यालयको प्रतिस्पर्धामा शहिद मावि ९ विकेटले विजयी भयो।
खेलमा सहिद माविका विपासा कुमाल प्लेयर अफ द म्याच बनिन्। छात्रतर्फ जनप्रकास मा विले लक्ष्मी आदर्श माविलाई ६ विकेटले पराजित गरेको छ। त्यस्तै छात्रतर्फको अर्को खेलमा बाल मन्दिरले श्रीकृष्ण माविलाई पराजित गरेको छ।
एक साता सम्म चल्ने प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ १६ सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले जानकारी दिए।
प्रतियोगिताको बिजेता विद्यालयका खेलाडीहरुले ६० प्रतिशत तथा उप–बिजेता टिमका खेलाडीहरुले ४० प्रतिशतको छात्राबृत्ति प्राप्त गर्ने कुँवरले जनाए। प्रतियोगिताका खेलहरु पोखरा रंगशाला क्रिकेट मैदान, मालेपाटन खेल मैदान, अम्मरसिंह खेल मैदान, लेखनाथस्थित क्रिकेट मैदानमा सञ्चालन गरिने छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)