एक खेल अगावै अष्ट्रेलियालाई सिरिज
neplays.com · Fri Jun 19 14:04:00 GMT 2026
काठमाडौं । अस्ट्रेलियाले बंगलादेश विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको रोमान्चक जित दर्ता गर्दै शृङ्खला खेल अगावै आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको खेलमा जित हात पार्दै पाहुना टोली अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिँदै आफ्नो पक्षमा पारेको हो । यसअघि ढाकामा भएको एकदिवसीय शृङ्खला गुमाएको अस्ट्रेलियाका लागि यो जित बदला स्वरूप बनेको छ भने सन् २०२१ मा बंगलादेशसँग ब्यहोरेको ४–१ को ऐतिहासिक हारको तितो सम्झनालाई समेत यस जितले मेटाएको छ ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रनको बलियो योगफल तयार पारेको थियो । अस्ट्रेलियाको सुरुआत निकै खराब रहेको थियो र टोलीले पावरप्लेभित्रै आफ्ना ३ शीर्ष ब्याटरलाई गुमाइसकेको थियो । ओपनर जोस इङ्लिसलाई नासुम अहमदले एलबीडब्लू आउट गरे भने अर्का इन–फर्म ब्याटर कुपर कोनोली र कप्तान मिचेल मार्स पनि सस्तैमा पभेलियन फर्किए ।
४४ रनमा ३ विकेट गुमेको कठिन परिस्थितिमा म्याट रेनशॉ र टिम डेभिडले अस्ट्रेलियाको इनिङ्स सम्हालेका थिए । यी दुईबीच चौथो विकेटका लागि मात्र ५० बलमा ९७ रनको आक्रामक साझेदारी भएको थियो । डेभिडले २६ बलमा ४५ रन बनाएर आउट हुनुअघि ४ छक्का प्रहार गरे भने रेनशाले उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमै आफ्नो अर्धशतक पूरा गरे । रेनशा ८९ रनमा अविजित रहे । बंगलादेशका नासुम अहमदले २ विकेट लिए ।
१९८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेशले उत्कृष्ट सुरुआत गरेता पनि ६ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो र ७ रनले चुक्यो । बंगलादेशका लागि ओपनर तन्जिद हसनले आक्रामक ब्याटिङ गर्दै स्पेन्सर जोन्सनको ओभरमा २२ रनसहित पावरप्लेमा टोलीलाई बलियो स्थितिमा पु¥याएका थिए । तन्जिदलाई रेनशाले नै कट एन्ड बोल्ड गर्दै बंगलादेशको पहिलो विकेट गिराए । त्यसपछि सौम्य सरकार र परवेज हुसेन इमोनले इनिङ्स अगाडि बढाए पनि अस्ट्रेलियाका बलरहरूले पुनरागमन गरे । इमोनले ३६ र सैफ हसनले ४२ रन जोड्दै तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेर बंगलादेशलाई १३ ओभरमा १३०÷२ को बलियो स्थितिमा राखेका थिए ।
तर मिचेल मार्सको उत्कृष्ट क्याच र अस्ट्रेलियाली बलरको कसिलो बलिङका कारण बंगलादेशले लगातार विकेट गुमाउन पुग्यो ।
खेलको अन्तिम ओभरहरूमा अस्ट्रेलियाका नेथन एलिस, एडम जाम्पा र आरोन हार्डीले उत्कृष्ट बलिङ गर्दै बंगलादेशी ब्याटरहरूलाई खुल्न दिएनन् । डेथ ओभरहरूमा बंगलादेशले आवश्यक बाउन्ड्रीहरू प्रहार गर्न नसक्दा र लगातार डट बलहरू खेल्नुपर्दा अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध गरेको जस्तो कीर्तिमानी रन चेज यसपटक दोहोरिन सकेन । बंगलादेशलाई सस्तैमा रोक्न र अस्ट्रेलियालाई सिरिज जिताउन म्याट रेनशाले ब्याटिङ र बलिङ दुवैमा नायकको भूमिका निर्वाह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)