मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

काठमाडौँका ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु, ‘इलिफेन्ट इन द फग’ लाई १० लाखसहित सम्मान गरिने

nepalpress.com · Fri Jun 19 14:06:28 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। महानगरले बिहीबार खुला मञ्चबाट महोत्सवको उद्घाटन गर्दै असार महिनाभर विभिन्न सार्वजनिक स्थलमा चलचित्र प्रदर्शन तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

शुभारम्भका अवसरमा खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएका छन्। यी चलचित्रहरू काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन्।

महानगरका अनुसार महोत्सवका कार्यक्रम असारभर हरेक शुक्रबार र शनिबार सञ्चालन हुनेछन्। प्रदर्शन गरिने चलचित्रहरू चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल तथा नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा उपलब्ध गराइएको हो।

कार्यक्रमको प्राविधिक व्यवस्थापन महानगरपालिकाले गरेको छ भने व्यवस्थापनका लागि खुला आह्वानमार्फत स्थानीय संघसंस्था छनोट गरिएको छ। उद्घाटन कार्यक्रमको व्यवस्थापन इकोज इन द भ्यालीले गरेको छ। शुक्रबार असन क्षेत्रमा हुने महोत्सवको व्यवस्थापन नीलः सांस्कृतिक क्लवले गर्नेछ।

त्यसैगरी येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसनले यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोलमा तथा मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन्। सार्वजनिक स्थल, पार्क, डवली तथा चोकहरूमा फिल्म महोत्सव आयोजना गर्ने योजनाअनुसार ती स्थान छनोट गरिएको महानगरले जनाएको छ।

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउन रचनात्मक उद्योग तथा समुदायलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा लघु चलचित्र प्रदर्शनका साथै चलचित्र, कला तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम र मौलिक खानाका परिकारसमेत समावेश गरिनेछन्।

यसैबीच, फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अनसर्टेन रिगार्ड’ विधाअन्तर्गत ‘जुरी प्राइज’ र ‘बेस्ट साउण्ड क्रियसन’ अवार्ड प्राप्त नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।

निर्देशक अविनाश विक्रम शाहको चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले २०८३ वैशाख २९ देखि जेठ ९ गतेसम्म फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो। कान्स प्रिमियरका क्रममा उक्त चलचित्रलाई दर्शकले उभिएर लगातार आठ मिनेटसम्म ताली बजाएर सम्मान गरेका थिए। चलचित्रले ‘बेस्ट साउण्ड क्रियसन’ अवार्डसमेत प्राप्त गरेको थियो।

नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन योगदान पुर्‍याएको भन्दै चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दाअघि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न सम्मान प्रदान गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

काठमाडौं र कान्स दुवै नगर युनेस्को क्रियटिभ सिटीज नेटवर्कअन्तर्गत ‘चलचित्र विधा’बाट सदस्य रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय