विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
ratopati.com · Fri Jun 19 15:31:40 GMT 2026

पेरिस । मोरोक्कोका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अचरफ हाकिमीविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाइने फ्रान्सेली अभियोजकहरूले पुष्टि गरेका छन्।
सन् २०२३ मा फ्रान्सको राजधानी पेरिसस्थित हाकिमीको घरमा उनले आफूलाई बलात्कार गरेको आरोप एक २४ वर्षीया महिलाले लगाएकी थिइन्।
पेरिसको पश्चिमी उपनगर नान्टेरेको सरकारी वकिलको कार्यालयले सन् २०२३ को मार्चमा यसको प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकर्ता न्यायाधीशले सन् २०२६ को फेब्रुअरीमा मुद्दा चलाउने आदेश दिएका थिए भने फ्रान्सेली सञ्चारमाध्यमका अनुसार २७ वर्षीय हाकिमीले मुद्दा खारेज गर्नका लागि भर्खरै गरेको अपिल असफल भएको छ।
शुक्रबार स्कटल्याण्डविरुद्ध विश्वकपको दोस्रो खेलमा आफ्नो टोलीको नेतृत्व गर्न लागेका हाकिमीले आफूमाथि लागेका आरोपहरूलाई लगातार अस्वीकार गर्दै आएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै हाकिमीले भने, ‘न्यायप्रणालीले मेरो आँखामा हेरेर भन्यो– यदि तिमी चर्चित नभएको भए यो कहिल्यै मुद्दा बन्ने थिएन।’
उनले थपे, ‘म वर्षौँसम्म मौन बस्ने निर्णयमा पुगेँ। आफ्नो मर्यादा कायम राख्दा, धैर्य गर्दा र न्यायप्रणालीमाथि विश्वास गर्दा सही निर्णय हुनेछ भन्ने मैले ठानेँ। आज मेरो परिवार, मेरो जीवन र विशेष गरी सत्यको मूल्यमा मेरो नभएको कथा बुनिएको छ। मलाई कहिलेकाहीँ म एउटा सजिलो निसाना बनेको जस्तो लाग्छ। म पहिलो दिनदेखि नै यो ट्रायलको पर्खाइमा थिएँ र अहिले म यसको उत्सुकताका साथ प्रतीक्षा गरिरहेको छु। अन्ततः मैले बोल्न पाउनेछु।’
मोरोक्कोका समूह चरणका तीनवटै खेलहरू संयुक्त राज्य अमेरिकामा भइरहेका छन्, जहाँ अहिले टोली बसेको छ। तर, यदि मोरोक्को नकआउट चरणमा प्रवेश गर्यो र उनीहरूको खेल अमेरिकाबाहिर पर्यो भने हाकिमीलाई क्यानडा वा मेक्सिको प्रवेश गर्न गाह्रो हुन सक्छ। गत हप्ता मात्र घानाका मिडफिल्डर थोमस पार्टीले विश्वकपको सह–आयोजक क्यानडामा प्रवेश अनुमति नपाएपछि पानामाविरुद्धको पहिलो खेल गुमाएका थिए।
३२ वर्षीय पार्टीले सन् २०२० र २०२२ को बिचमा चार फरक महिलाहरूले लगाएको आरोपका आधारमा दर्ता भएका बलात्कारका सातवटा र यौन दुर्व्यवहारको एउटा मुद्दामा आफू दोषी नभएको दाबी गरेका छन्। उनीमाथि अर्को वर्ष मुद्दा चलाइँदैछ। क्यानडाको सरकारी वेबसाइटका अनुसार ‘अपराध गरेको वा अपराधमा दोषी ठहरिएको’ कुनै पनि व्यक्तिलाई उनीहरूले प्रवेश अनुमति अस्वीकार गर्न सक्छन्। यस पटकको विश्वकप क्वाटरफाइनल खेलसम्म तीनवटै सह–आयोजक देशहरूमा सञ्चालन हुनेछ भने त्यसपछिका खेलहरू अमेरिकामा मात्र हुनेछन्।
मोरोक्कोका लागि ९७ खेल खेलिसकेका हाकिमीले सन् २०१६ मा १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्दै मोरोक्कोले इतिहास रच्दा उनी टोलीका प्रमुख खेलाडी थिए। सन् २०२१ मा इन्टर मिलानबाट पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका यी डिफेन्डरले क्लबमा रहँदा पछिल्ला दुई सिजनमा लगातार च्याम्पियन्स लिगको उपाधिसहित १३ वटा विभिन्न ट्रफीहरू जितिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)