सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सुवासलाई प्ले अफमा उपाधि
baahrakhari.com · Fri Jun 19 15:34:04 GMT 2026

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुवास तामाङले प्ले–अफमा जितेका छन् । प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै तीन लाख २० हजार नगद पुरस्कार जिते ।
सुवास, भुवन र सदभाव तीनैजनाले ७२ होलको खेल समग्रमा १८–अन्डर २७० मा सकाए । यो सँगै खेलको निर्णय प्ले–अफबाट भयो । प्ले–अफमा सुवासले पार खेले । भुवन र सदभाव दुवैले पार पट मिस गरे । योसँगै सुवास च्याम्पियन बने । भुवन दोस्रो भए । उनले नगद दुई लाख ६ हजार पाए ।
सुवासले शुक्रबार ३–अन्डर ६९ खेले । तेस्रो होलको बोगीका विरूद्ध सातौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन–पार ३६ खेले । यसपछि ११औँ देखि १३औँ होलसम्म तीन बर्डीसहित ३–अन्डर ३३ मा सकाए ।
भुवनले ४–अन्डर ६८ मा खेल पूरा गरे । दोस्रो होलमा बोगी खेलेका उनले तेस्रो, चौथो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ११औँ र १७औँ होलमा बर्डी प्रहार गर्दा डबल बोगी खेल्दै इभन–पार ३६ खेले ।
सदभावले आज दिनकै उत्कृष्ट ६–अन्डर ६६ को स्कोर कार्ड तयार पारे । उनले फ्रन्ट र ब्याक नाइन दुवै ३–अन्डर ३३ खेले । उनले तेस्रो, छैटौँ, नवौँ, १२औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गरे । यो उत्कृष्ट स्कोरमा प्ले अफमा पुगेका सदभाव एमेच्योरतर्फ विजेता बने । उनले राहुल विश्वकर्मालाई आठ स्ट्रोकले हराए ।
आज फाइनल ग्रुपमा खेलेका शुक्रबहादुर राई समग्रमा १५–अन्डर २७३ सहित चौथो भए । आज ३–अन्डर ७९ मा खेल पूरा गरे । प्रोतर्फ तेस्रो भएका उनले एक लाख ६२ हजार हात पारे ।
साविक विजेता राहुल समग्रमा १०–अन्डर २७८ को स्कोरमा पाँचौँ भए । उनले अन्तिम दिनको खेल इभन–पार ७२ खेले । एमेच्योरतर्फ उनी दोस्रो भए । एमेच्योर तेन्जिङ छिरिङ समग्रमा ७–अन्डर २८१ सहित सातौँ स्थानमा खेल सकाए । एमेच्योरतर्फ उनी तेस्रो भए ।
समग्रमा ३–अन्डर २८५ सहित दिनेश प्रजापति सातौँ भए । प्रोतर्फ चौथो भएका उनले एक लाख ४५ हजार हात पारे । समग्रमा १–अन्डर २८७ सहित एमेच्योर वाङचेन ढोन्डुप आठौँ भए । नेपाल नम्बर एक प्रो निरज तामाङ नवौँ भए । उनले इभन–पार २८८ मा यो प्रतियोगिता पूरा गरे । प्रोतर्फ पाँचौँ भएका उनले एक लाख २८ हजार नगद पुरस्कार पाए ।
समग्रमा १–ओभर २८९ सहित प्रोहरू भुवनकुमार रोक्का, तोरणविक्रम शाही, सञ्जय लामा तथा एमेच्योरहरू नोर्बु छिरिङ शेर्पा र रितेश तामाङले समग्रमा दशौँ स्थान बाँडे ।
प्रोतर्फ भुवन, तोरण र सञ्जय प्रोतर्फ छैटौँ भए । उनीहरूले जनही ९६ हजार ३३३ नगद पुरस्कार हात पारे ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर गौरव तयाल र एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे । कुल १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष १८ जना प्रोले नगद पुरस्कार प्राप्त गरे ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ को आठवटा प्रतियोगिता सकिएसँगै आगामी सिजन भुवन नगरकोटी नम्बर एक खेलाडी हुने भएका छन् । उनले यो सिजन कुल १० लाख ३३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यो क्रममा उनले चार प्रतियोगिताको उपाधि जिते ।
कुल सात लाख २७ हजार ३३३ रुपैयाँ पुरस्कार जित्दै नम्बर अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहे । दिनेश प्रजापति तेस्रो, जयराम श्रेष्ठ चौथो र सञ्जय लामा क्रमश तेस्रो, चौथो र पाँचौँ स्थान रहे । दिनेशले ६ लाख २९ हजार ८३३, जयरामले पाँच लाख ११ हजार ५ सय र सञ्जयले चार लाख ७८ हजार ३३३ नगद पुरस्कार पाए ।
८० लाख नगद पुरस्कार राशी रहेको यो सिजन कुल ३६ प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे ।
#सुवास तामाङ
#सूर्य नेपाल प्रिमियर गल्फ
#गल्फ च्याम्पियनसिप
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)