ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
ratopati.com · Fri Jun 19 15:45:04 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।
सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ । हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ ।”
यसैबिच, ट्राफिक प्रहरीले आजमात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ । चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)